काभ्रेपलाञ्चोक । वाग्मती प्रदेशका नवनियुक्त कृषि तथा पशुुपक्षी विकासमन्त्री वसुन्धरा हुमागाईंले प्रदेशमै रासायनिक मल उत्पादन गरिने बताउनुभएको छ ।उहाँले काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–४ मा नेकपा (एकीकृत समाजवादी)को वडा भेलालाई शनिबार सम्बोधन गर्दै उनले मल उत्पादनका लागि दुई हप्ताभित्रै अध्ययन कमिटी बनाएर प्रशासनिक प्रक्रिया अघि बढाइने जानकारी दिए ।
“प्रदेशमै मल उत्पादन गर्न अबको १५ दिनभित्रै अध्ययन कमिटी बनाएर प्रक्रिया अघि बढाउछौँ, अर्को आर्थिक वर्षमा बजेट छुट्याएर मल उत्पादन थाल्नेछौँ, यो अभियान देशैभरि लगिनेछ”, उनले भने । उनले आउँदो आर्थिक वर्षको बजेटले मल उत्पादन थालिने भए पनि यही वर्षमै अध्ययन गरी सम्पूर्ण प्रशासनिक तयारी सक्ने बताए ।
मन्त्री हुमागाईंले मन्त्रालयले दुई हप्तामै स्वेतपत्र जारी गर्दै प्रदेशमा कृषि तथा पशुुपक्षी विकासका क्षेत्रमा अघि बढ्ने बताए । उनले भने, “कृषिलाई आधुनिकीकरण गर्नुछ, जनताको कृषिका माध्यमबाट कृषकको आर्थिकस्तर वृद्धि गर्नुपर्छ ।” आफू पनि कृषिबाटै जनताको आर्थिकस्तर वृद्धि हुनुपर्ने विचारक भएको उनले दाबी गरे ।
कार्यक्रममा पार्टीका केन्द्रीय मुकुन्द गौतम, जिल्ला सचिव दीपक गौतम, अखिल नेपाल महिला सङ्घ (एकीकृत समाजवादी) जिल्लाध्यक्ष पासाङ डोल्मा तामाङलगायतले शुभकामना व्यक्त गरेका थिए । सो अवसरमा मीनप्रसाद गौतमको अध्यक्षतामा ३५ सदस्यीय वडा कमिटी गठन गरिएको छ ।
Comments are closed.