उद्योग, व्यवसाय तथा स्थानीय उत्पादनको प्रवर्द्धन गर्न लेखनाथ महोत्सव

पोखरा । उद्योग, व्यवसाय तथा स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने लक्ष्यसहित १७औं  संस्करणको लेखनाथ महोत्सव हुने भएको छ । निजी क्षेत्रको छाता संस्था लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा माघ १३ देखि २४ गतेसम्म मेला सञ्चालन हुनेछ । पोखरा २७ डाँडाकोनाकमा मेला हुनेछ ।

महोत्सवमा ३ सयवटा स्टल रहने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइने संघका अध्यक्ष छत्रधर आत्रेयले जानकारी दिए ।

महोत्सवको २ लाख ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको संघका द्वितीय उपाध्यक्ष एवं प्रचारप्रसार उपसमिति संयोजक गोपिचन्द्र बास्तोलाले जानकारी दिए । १० करोड रूपैयाँ बराबरको कारोबार हुने उनले बताए ।

संघका सदस्यलाई प्राथमिकतामा राख्दै १० प्रतिशत छुटमा महोत्सवका लागि स्टल बुकिङ खुल्ला गरिएको वरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए  । अन्य सर्वसाधारणका लागि पुस ११ बाट स्टल बुकिङ खुल्ला हुने उनले जानकारी दिए ।

महोत्सवमा १ करोड ५ लाख आम्दानी हुने र ९० लाख रूपैयाँ खर्च भई १५ लाख रूपैयाँ बचत हुने अपेक्षा गरिएको महासचिव उपेन्द्रराज सुवेदी (राजु)ले जानकारी दिए । महोत्सवको तयारी तिब्र बनाइएको उनले बताए ।

कोभिड १९ का कारणले थला परेको अर्थतन्त्रलाई चलायमान बनाउदै लेखनाथ तथा गण्डकी प्रदेश क्षेत्रको आर्थिक गतिविधि बढाउन महोत्सव सहयोगी हुने आयोजकको विश्वास छ ।

lcci
You might also like

Comments are closed.