झलारीमा फोहर व्यवस्थापनको चुनौती

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाको झलारी बजारमा रहेका निजी क्लिनिक र अस्पतालबाट निष्कने फोहर व्यवस्थापन नहुँदा चुनौती थपिएको छ । अस्पताललगायत क्षेत्रबाट निष्कने फोहर व्यवस्थापन नहुँदा मानव स्वास्थ्यमा सङ्क्रमणको खतरा बढेको हो । अस्पताल र निजी क्लिनिक सञ्चालकले सङ्कलित फोहर सडक छेउमै थुपार्ने गरेका छन् । थुपारिएका फोहर सरसफाइकर्मीले उठाएर लैजाने गरेका छन । सडक छेउमै थुपारिएको फोहरका कारण बजार क्षेत्रमा हिँडडुल गर्ने नगरवासी, सरसफाइकर्मीसमेत उच्च जोखिममा छन् ।

बजार क्षेत्रबाट आवश्यक सुरक्षा सामग्री बिनानै सरसफाइकर्मीले फोहर उठाउँदै आएका छन् । आवश्यक सुरक्षाका सामग्रीको व्यवस्थाका लागि नगरपालिकासँग अनुरोध गर्दासमेत बेवास्ता हुँदै आएको सरसफाइकर्मीको गुनासो छ । “निकै चुनौतीका बीच फोहर उठाउनुपर्ने हुन्छ”, सरसफाइकर्मी भन्छन्, “सुरक्षा सामग्री नहुँदा सङ्क्रमणको डरसमेत छ । डर मानेर हुँदैन । काम गर्नैपर्ने हुन्छ ।”

सरसफाइकर्मीले झलारी बजारसँगै वनसमिति र कलुवापुर बजार क्षेत्रको फोहरसमेत उठाउँदै आएका छन् । तीन वटै बजार क्षेत्रमा एक वटा अस्पताल, दुई वटा पोलिक्लिनिक र डेढदर्जन बढी निजी क्लिनिक सञ्चालनमा छन् । सरसफाइकर्मीले बजार क्षेत्रमा सङ्कलित भएको फोहर लगेर श्रीकृष्ण सामुदायिक वन क्षेत्रमा फाल्ने गरेका छन् ।

बजार क्षेत्रबाट झण्डै एक किलोमिटर मात्रै दूरीमा रहेको सामुदायिक वनमा फालिने फोहरका कारण नजिकैका बस्तीमा नकारात्मक असरपर्ने स्थानीयवासी नरेन्द्रबहादुर विष्टले बताए । “सामुदायिक वनक्षेत्र हँुदै वनहरा नदी किनारमा रहेको आर्यघाट जाने व्यक्तिसमेत अस्पतालजन्य फोहरबाट प्रभावित हुने देखिएका छन्”, उनले भने, “जथाभावी रूपमा फालिने फोहरले वन हेराला र वन संरक्षणमा संलग्न सामुदायिक वनका उपभोक्तालाई समेत वन क्षेत्रमा हिँडडुल गर्न निकै समस्या छ ।”

अस्पतालजन्य फोहर केही निजी मेडिकलले सनबोरा नदीकै पुल छेउमासमेत फाल्ने गरेका छन् । नदीमा बगेर त्यस्ता फोहरले वातावरणीय प्रदूषणसमेत फैलाउने स्थानीय बासिन्दाको भनाइ छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार तरल र ठोस् छुट्याएर अस्पतालजन्य फोहर व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

संक्रमित जोखिमयुक्त फोहर निर्मलिकरण गरी अस्पताल तथा स्वास्थ्य सेवा प्रदायकले व्यवस्थापन गर्नुपर्ने स्वास्थ्यकर्मीनै बताउछन् । नगरपालिकाका फोहर व्यवस्थापनका रूपमा कार्यरत ट्रिपर चालक मिन्नत राणाले भने झलारी क्षेत्रमा रहेका अस्पताल तथा क्लिनिक सञ्चालकहरूले सधैँजसो अस्तालजन्य फोहर सडक छेउमै फाल्ने गरेकाले सरसफाइकर्मीले व्यवस्थापनका लागि उठाएर लैजाने गरेको बताउछन् । सामुदायिक वन क्षेत्रमा जथाभावी रुपमा नभएर प्रस्तावित फोहरमैला व्यवस्थापन केन्द्रको जग्गामा बजार क्षेत्रको सबै फोहर व्यवस्थापनको कार्य हुँदैआएको उनले बताए ।

अस्पतालमा उत्पादित फोहरलाई बन्द भाँडोमा जलाएर नष्ट गरिने प्रविधिमार्फत व्यवस्थापन गर्नुपर्ने भए पनि शुक्लाफाँटा नगरपालिका कुनै पनि अस्पतालले उत्पादित फोहर आफैं नष्ट गर्ने त्यस्तो प्रविधिको व्यवस्था मिलाएका छैनन् । नगरपालिकामा निर्माण हुने अत्याधुनिक ल्याण्डफिल साइट नबन्दासम्म समस्या भइरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकेन्द्रप्रसाद भट्टले बताए । अस्पतालजन्य फोहर व्यवस्थापनको विषयलाई नगर कार्यपालिकाको बैठकमा लगिने र अनुगमनसमेत गरिने अधिकृत भट्टले बताए । नगरपालिकामा सञ्चालित पोलिक्लिनिक र क्लिनिकहरूलेसमेत अस्पतालकै ढाँचामा बिरामीको उपचार गर्ने गरेका छन् ।

lcci
You might also like

Comments are closed.