सुरेन्द्र पौडेल, पोखरा । सुन्दर नगरी पोखरामा अत्याधुनिक सुविधा सम्पन्न होटल सञ्चालनमा आउने भएको छ । पोखराका युवा पर्यटन व्यवसायी दाजुभाई विश्वराज पौडेल र भीष्मराज पौडेलले ‘टेम्पल बेल बुटिक होटल’ सञ्चालनमा ल्याउन लागेका हुन् ।
चिल्ली ग्रुप अन्तर्गत सञ्चालनमा आउने होटल अहिले निर्माणाधीन छन् । पोखराको लेकसाइडस्थित स्ट्रिट नं. १७ लालुपाते मार्गमा होटल निर्माणको काम भइरहेको छ । २०२० डिसेम्बरमा सिलान्यास गरिएको होटल सन् २०२३ को अन्तिमसम्म सञ्चालनमा ल्याउने लगानीकर्ताहरुको लक्ष्य छ ।
होटलमा सुविधा सम्पन्न ५२ वटा रुम रहनेछन् । स्विमिङ पुल सहित पर्यटकका लागि आवश्यक सम्पूर्ण सेवा होटलमा उपलब्ध हुने सञ्चालक भीष्मराज पौडेलले आर्थिक आवाजलाई जानकारी दिए । ‘पोखरामा अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न होटल निर्माण गरिरहेका छौं,’ उनले भने, ‘एन्टिक लुक्स दिएर निर्माण गरिने होटल आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य बन्नेमा हामी विश्वस्त छौं ।’
आधुनिक डिजाइनमा निर्माण भइरहेको होटलमा अण्डर ग्राउण्डसहित प्रयाप्त पार्किङ, कार्यक्रम गर्नका लागि सेमिनार तथा मिटिङ हलको सुविधा उपलब्ध हुनेछ । साढे २ रोपनी जग्गामा निर्माण भइरहेको होटलमा ३० करोड रुपैयाँ भन्दा बढी लगानी हुँदैछ ।
होटल निर्माण भइरहेको स्थलमा यस अगाडि सञ्चालनमा रहेको हिमालयन किचन र हिमालयन गेष्ट हाउसलाई जरेबरमा स्थानान्तरण गरिने भएको छ । अब चिल्ली ग्रुपको कर्पोरेट कार्यालय पनि जरेबरमा नै रहनेछ ।
चिल्ली ग्रुप अन्तर्गत अहिले चिल्ली बार एण्ड रेष्टुरेन्ट र पव डान्डिङ बोट सञ्चालनमा छन् । हिमालयन ग्लोरी र ३६० डिग्री स्काई लाउन्ज निर्माणाधीन छन् । निर्माणाधीन होटलमा ५० जना भन्दा बढीले प्रत्यक्ष रोजगारी पाउनेछन् भने चिल्ली ग्रुप अन्तर्गत रोजगारी पाउनेको संख्या एक सय ५० प्लस पुग्ने पौडेलले जानकारी दिए ।
Comments are closed.