सानेबहादुर नेपाली/तनहुँ । व्यास नगरपालिका–५ चापाघाटको सिर्दीस्थित बंगुर फार्ममा अहिले ४० बंगुर छन् । योसँगै फार्म सुङ्गुर र बँदेल गरी पाँच छन् ।
तनहुँका झलकबहादुर आलेको सो फार्ममा अहिले रु १५ लाख मूल्य बराबरका बंगुर, सुगुर रहेका छन् । व्यास नगरपालिका–५ चापाघाटस्थित सिर्दीमा रु २२ लाखमा दश रोपनी जग्गा किनेर बंगुरपालन व्यवसाय सुरु गरेका आलले मासु र पाठापाठी बेचेर दैनिक रु ४० हजारदेखि एक लाख लाखसम्मको कारोवार गर्छ । ‘फार्म’मा लगानी बढेर अहिले करिब एक करोड पुगेको अनुमान उनको छ ।
ऋषिङ गाउँपालिका–५ राम्जाकोटबाट विसं २०६० मा दमौली झरेका आलेले सुरुमा मासु व्यवसाय गरे । विसं २०७० मा मासु व्यवसायसँगै उनले बंगुरपालन सुरु गरे । ‘फार्म’मा आलेको परिवारबाहेक अन्य दुई जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । उनले निर्माण गरेका नौ वटा खोरमा बंगुर ४०, सुगुर र बँदेल पाँच गरी कूल ४५ वटा रहेका छन् । उनले दमौलीमै मासु पसल लाइनमा तीन वटा मासु पसल खोलेका छन् । बंगुर काटेर आफू र अन्य मासु व्यवसायीलाईसमेत होलसेलमा बिक्री गर्दै आएका छन् ।
मासु पसल र बंगुरपालन व्यवसायबाट आलेले व्यास–३ देउराली नगरमा तीन तले पक्की घर निर्माण गरेका छन् । बंगुर र राँगो पाल्नका लागि दुईजना कर्मचारीको व्यवस्थापन गरिएको र उनीहरुलाई खाना बस्न दिएर मासिक रु बीस हजार तलब दिइरहेको आलेले बताए । “एक महिना पुगेका पाठापाठीलाई पाँच हजार पर्छ, मासुको बजार मूल्य भने अहिले प्रतिकेजी रु ४०० छ”, उनले भने । एउटै बंगुरले १७ वटासम्म पाठापाठी जन्माउँदछन् । थोरैमा पनि पाँच÷छ वटा जन्मन्छन् । एकसाथ धेरै माउ ब्याउँदा खोर भरिभराउ हुन्छ । तीन महिना २१ दिनमा बंगुर ब्याउँछ । मासु भन्दा पाठापाठी बेच्दा बढी फाइदा उठने गरेको उनको भनाइ छ ।
“मासिक त्यस्तै १२÷१५ लाखसम्म आम्दानी हुन्छ”, उनले भने, “अहिलेसम्म सबै लगानीमै गएको छ, खर्च पनि उस्तै छ ।” लगानी थप्दै गएपछि पछि मुनाफा बढ्ने उनको विश्वास छ । अहिले भएको खोर अपुग देखिएकाले थप्ने योजना छ । बंगुरको दाना, कामदार व्यवस्थापन र ढुवानीमा बढी खर्च छ । ठूलो लगानीमा बंगुरपालन सुरु गरे पनि सरकारी क्षेत्रबाट कुनै सहयोग नपाएको उनको गुनासो छ ।
उक्त क्षेत्रमा रहेका ३६ वटा मासु व्यवसायीमध्ये बंगुरपालन गरी बंगुरको धेरै मासु बिक्री गर्ने आले नै हुन् । अधिकांश मासु पसलमा उनले नै बंगुर, सुगुरको मासु पठाउने गरेको छ । उनका अनुसार बँदेलको मासु प्रतिकिलो रु ६००, सुङगुर रु पाँच सय र बङ्गुर÷राँगो रु चार सयमा बिक्री गर्ने गरेको उनकी श्रीमती कृष्णमायाले बतइन् ।
“मासु पसलमा तीनजना जनशक्ति राखेर ग्राहकलाई सेवा प्रदान गर्दै आएका छौं”, उनले भनिन्, “कोभिडको समयमा मासुको व्यपार कमी भए पनि अहिले पुरानै अनुपातमा मासु बिक्री हुन थालेको छ ।” पछिल्लो समय मासु र पाठापाठीको माग बढेपछि बंगुरपालन व्यवसाय फस्टाएको छ । राम्रो कमाइका लागि किसान बंगुरपालनमा आकर्षित छन् । कम समयमै राम्रो प्रतिफल आउने हुँदा बङ्गुरपालन बढेको जिल्लास्थित भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जनाएको छ ।
Comments are closed.