श्रीराम सुवेदी, पोखरा । मातृभूमि बचत तथा ऋण सहकारी संस्था लि. पोखरा-८ ले तनहुँ जिल्लाको भिमाद नगरपालिका वडा नं. १, हुक्का, लिलिङकोट स्थित मदर्शा गौशीया प्रा.वि.का ४२ जना विद्यार्थीहरुलाई पोशाक वितरण गरेको छ । सहकारीले आफ्नो १२ औँ स्थापना दिवसको अवसरमा बिहीबार विद्यालयमा कार्यक्रम गरेको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा संविधान सभा सदस्य टुकराज सिग्देलले सहकारीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विकट क्षेत्रमा पीछडिएका समुदायका विद्यार्थीलाई शैक्षिक राहत स्वरुप गरिएको सहयोग अनुकरणीय रहेको बताए । सहकारीमार्फत समुदायमा रहने सबै जातजाति, धर्म, संस्कृति, भेषभुषा बचाउनु र सदस्य र समुदायको आर्थिक उत्थानमा सहकारी निरन्तर लाग्नुपर्ने उनले बताए ।
भिमाद नगरपालिका वडा नं. १ का वडा अध्यक्ष सोमनाथ शर्मा लम्सालले आफ्नो पेशा व्यवसायका लागि गाउँबाट बाहिरिएर पनि पुनः आफ्नै थातथलोको विकास र उन्नतीको लागि सहकारी मार्फत सम्झनु नै स्थानीयका लागि गर्वको विषय भएको बताए ।
तनहुँ सम्पर्क समाज पोखराका अध्यक्ष अम्बिका प्रसाद भट्टराईले समाज र सहकारीको सहकार्यबाट गरिने दैविक तथा मानविय सहयोगलाई निरन्तरता दिइरहने बताए । विद्यालयका प्रधानाध्यापक तौरन मियाले विद्यालयको शैक्षिक सुधारका लागि गरिएको सहयोगलाई खेरा जान नदिने बताए ।
सहकारीका अध्यक्ष चन्द्रविक्रम अधिकारीले सहकारीको सिद्धान्त र मर्म अनुरुप समुदायलाई नै अगाडि बढाएर वा सदस्यहरुकै आर्थिक उपलब्धि बिना कुनै पनि संस्थाको विकास नहुने बताउँदै समुदाय र संस्थाको नङ र मासुको सम्बन्धलाई थप प्रगाढ बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रमको सञ्चालन सचिव शिवराज पौडेलले गरेका थिए भने स्वागत मन्तव्य शिक्षक नन्दलाल प्रसाद यादवले गरेका थिए। कार्यक्रममा विद्यालयको शैक्षिक सामग्री सहयोगार्थ तनहुँ सम्पर्क समाज पोखराले नगद रु पाँच हजार र सहकारीका ऋण उपसमिति सदस्य बलराम गिरीले तीन हजार नगद हस्तान्तरण गरेका थिए । वि.स. २०६४ सालमा स्थापित उक्त विद्यालयमा ४२ जना मुस्लिम समुदायका बालबालिका अध्ययनरत छन् । सहकारीमा हाल ७ सय ३० जना शेयर सदस्य छन् ।
Comments are closed.