म्याग्दी । म्याग्दीको पर्यटकीयस्थल टोड्केमा ‘हाइ अल्टिच्युड’ उच्च स्थानको खेलमैदान निर्माण सुरुआत भएको छ । समुद्री सतहदेखि दुई हजार २०० मिटरको उचाइमा रहेको सो स्थानमा रघुगङ्गा गाउँपालिकाले खेलमैदान बनाउन लागेको हो ।
उच्च स्थानका भूगोलमा खेलकूद प्रतियोगिता र प्रशिक्षण सञ्चालन तथा खेल पर्यटनको विकास गर्ने उद्देश्यले खेलमैदान बनाउन लागिएको रघुगङ्गा–५ का वडाध्यक्ष मनबहादुर शेरपुञ्जाले जानकारी दिए । “गत कात्तिकमा सम्झौता गरेका ठेकेदारले खेलमैदान बनाउन एक्साभेटर परिचालन गरेर जग्गा व्यवस्थापन थालेका छन्,” उनले भने“थप पूर्वाधार निर्माण सुरु गर्न ताकेता र समन्वय गरेका छौ ।”
टोड्केमा हाई अल्टिच्युड खेलमैदान बनाउन बेनपा–१ को मनिषा निर्माण सेवासँग रु २३ लाख २३ हजार ९१४ मा ठेक्का सम्झौता भएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए । खेलमैदान निर्माण गर्न रु ५१ लाख २० हजार ८८० लागत अनुमान गरिएको थियो ।
ठेक्कामार्फत जग्गा सम्माउने, ग्याबिन पर्खाल निर्माण हुने भएको छ । क्रमागत योजनाको रुपमा आगामी वर्ष थप बजेट विनियोजन गरेर खेलमैदान निर्माणलाई पूर्णता दिइने गाउँपालिकाले जनाएको छ । रघुगङ्गा, मङ्गला, गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा अवस्थित टोड्केमा हिमाल हेर्दैं खेलकूद प्रतियोगिता र प्रशिक्षण सञ्चालन गर्न मिल्ने गरी आधुनिक तथा व्यवस्थित मैदान निर्माणको कार्य सुरू भएको हो ।
गुराँसको जङ्गलको बिचमा अवस्थित टोड्केबाट सूर्योदय, धवलागिरि, अन्नपूर्ण रेञ्जका १५ भन्दा बढी हिमाल म्याग्दी, पर्वत र बागलुङको पहाडी भूगोलको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ । धवलागिरि सेञ्चुरी पदमार्गको प्रवेश विन्दुमा पर्ने टोड्केमा स्वर्गद्वारी आश्रमको शाखा र शिव मन्दिर पनि भएकाले यसको धार्मिक पर्यटकीय सम्भावना समेत छ ।
स्वर्गद्धारीको शाखा र शिव मन्दिरको जीणोद्वार गर्न विस्तुत परियोजना प्रतिवेदन बनाएर पुरातत्व विभागमा प्रस्ताव गरिएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए । टोड्केमा पूर्वाधार बनाउन रघुगङ्गा गाउँपालिकाले खेलमैदानसहित चालू आर्थिक वर्षमा रु एक करोड दुई लाख ८९ हजार ६७७ को लागतमा पदमार्ग, उद्यान र सडक निर्माण सुरु गरेको छ ।
झिँ गाउँदेखि टोड्के जोड्ने सिद्ध फुटस्टेप र पार्क निर्माण योजनाका लागि गत साउनमा बेनीको खुसी होम बिल्डर्स प्रालिले भ्याट रकमसहित रु ५८ लाख दुई हजार ७३२ मा ठेक्का सम्झौता गरेको थियो । योजनाको कूल लागत अनुमान रु एक करोड एक लाख गरिएको थियो ।
गाउँपालिकाका इञ्जिनीयर सुदिप गौतमले उकालो बाटोमा दुई मिटर फराकिलो ४२५ मिटर पक्की पदमार्ग, दुई वटा प्रतिक्षालय र दृष्य अवलोकन गर्नेस्थल सहितको उद्यान बनाउन लागिएको जानकारी दिए ।
यसैगरी रु ३८ लाख ८० हजार लागत अनुमान गरिएको झिँ–टोड्के सडक निर्माणका लागि बेनीको सम्मान कन्ट्रक्सनसँग रु २१ लाख ६३ हजार ३१ मा ठेक्का सम्झौता भएको छ । सडकलाई फराकिलो बनाउने, ग्रेड, घुम्ती सुधार तथा नाली बनाउने, ढुङ्गा विच्छ्याएर सोलिङ गर्ने योजना छ ।
Comments are closed.