मनाङ । हिमाली जिल्ला मनाङमा बाढीपहिराका कारण हुने जोखिम तथा पहिरो नियन्त्रणका लागि समग्र अध्ययन प्रतिवेदन तयार गरिँदैछ । बाढीपहिराका जोखिम नियन्त्रणका लागि मनाङको समग्र अध्ययन गरी प्रतिवेदन तयार गर्न लागिएको हो ।
विगतमा भएका क्षतिको संरक्षण र बस्ती व्यवस्थापनका लागि उक्त क्षेत्रमा बसोबास तथा पूर्वाधार निर्माण गर्नका लागि अध्ययन प्रतिवेदन तयार गर्न लागिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए । उनका अनुसार बाढीपहिरो गएर क्षति पुगेका क्षेत्रमा बस्ती व्यवस्थापन गर्नुका साथै पूर्वाधार निर्माणका लागि नेपाल सरकार गृह मन्त्रालय पठाइएको छ ।
वर्षायाम सुरु हुन लागेसँगै जोखिम बस्तीको व्यवस्थापन तथा मस्र्याङ्दी नदी आसपासका क्षेत्रमा निजी आवास तथा सार्वजनिक भवन जस्ता पूर्वाधार निर्माणका लागि अध्ययन प्रतिवेदन तयार गर्न आग्रह गरिएको उनले बताए । “वर्षायाम सुरु हुनु अगावै यहाँको अध्ययन तथा पुनःनिर्माणलाई तीव्रताका साथ अगाडि बढाउन अध्ययन प्रतिवेदन तयार गर्न लागिएको हो । उक्त क्षेत्रमा बस्ती बस्न उचित हुन्छ÷हुँदैन भन्ने जानकारी हुन आवश्यक छ । भूगर्भविद्, जलविज्ञानविद् र इञ्जिनीयरलगायतका प्राविधिक विज्ञहरुको टोलीले स्थलगतरूपमा अध्ययन गरी प्रतिवेदन तयार गरिने भएको छ”, प्रजिअ आचार्यले भने, “प्रतिवेदनअनुसार निर्णय गरी पुनःनिर्माणको काम थालिने छ ।”
केही दिनअघि मात्रै भूगर्भविद्, जलविज्ञानविद् र इञ्जिनीयरलगायत प्राविधिक विज्ञहरुको टोलीले स्थलगत अध्ययन गरेर फर्किएको उनले बताए । आचार्यका अनुसार टोलीले उक्त प्रतिवेदन तयार गरी गृह मन्त्रालयमा पेश गर्नेछ । नासो गाउँपालिका–१ स्थित तालगाउँमा नदी नियन्त्रण र ताचै गाउँको पहिरो नियन्त्रणका लागि समग्र अध्ययन गरिएको छ ।
प्रजिअ आचार्यका अनुसार विज्ञ टोलीले दिने प्रतिवेदनबमोजिम वर्ष अगावै तत्काल नदी तथा पहिरो नियन्त्रण गरी बस्तीको संरक्षण गर्ने कार्य अगाडि बढाइनेछ । अध्ययन गरिएको क्षेत्रमा बस्ती बसाउन उचित भए नभएको अध्ययन प्रतिवेदन आएपछि मात्रै उक्त क्षेत्रका कार्य अगाडि बढाउने उनले बताए ।
नासो गाउँपालिका–१ तालगाउँस्थित नदी नियन्त्रण गरी बस्ती जोगाउने र ताचैगाउँको पहिरो नियन्त्रणका लागि समग्र अध्ययन गरी प्रतिवेदन तयार गरिएको छ । मनाङमा गत जेठ र असारमा आएको बाढीपहिराका कारण मस्र्याङ्दी नदी आसपास क्षेत्रमा निजी आवास तथा सार्वजनिक भवन, पूर्वाधारलगायतका सम्पत्तिमा ठूलो क्षति भएको थियो ।
Comments are closed.