दुग्ध क्षेत्रको विकासमा सञ्चार माध्यमको भूमिका के ?

शिवहरि आचार्य, अध्यक्ष, नेपाल डेरी एसोसिएसन, गण्डकी प्रदेश

दुग्ध क्षेत्र भनेको गाई भैंसी पाल्ने कृषकदेखि दूध संकलन केन्द्र हुँदै सहकारीमार्फत दूध प्रशोधन उद्योगबाट प्रशोधन भई उपभोक्ताको घरघरमा दूध पुर्याउने बेलासम्मको मूल्य श्रृंखलामा संलग्न पक्ष तथा प्रसंगहरु यस क्षेत्रमा समेटिएका हुन्छन् ।

कृषकले दैनिक आम्दानी गर्ने क्षेत्रको रुपमा वर्षौदेखि पहिचान पाएको डेरी क्षेत्रको विकासमा दुग्ध उद्योग र दुग्द्य सहकारी दुग्ध बजारका धरोहरका रुपमा सक्रिय छन् । स्वच्छ दूध तथा दूधजन्य पदार्थ बजारसम्म पुर्याउन यि दुई पक्षको महत्व अधिक छ ।

सयौंको संख्यामा रहेका साना, मझौला तथा ठूला डेरीहरु र दुग्ध सहकारीहरु कृषक र उपभोक्ताको बीचमा पुलको भूमिकामा रहेका छन् । कुल ग्राहस्थ उत्पादनमा ३४ प्रतिशत हिस्सा रहेको कृषि क्षेत्रमा समेत महत्वपूर्ण स्थान रहेको दुग्ध क्षेत्र मानव स्वास्थ्यको हिसाबले प्रति व्यक्ति प्रति वर्ष डबल दूध पिउन आवश्यक भएकाले यो क्षेत्रको महत्व झनै बढेको छ ।

आम संचार माध्यमको पहिलो जिम्मेवारी भनेको जनता र सहकारीबीचको मध्यस्थकर्ताको भूमिका निर्वाह गर्नु हो । देशको चौथो अंगको रुपमा चिनिने संचार माध्यमले हरेक पक्ष र उपभोक्ताको हकहित र किसानको तहसम्मका समस्याको पहिचान गरि सरकारलाई सुसुचित गराउन आवश्यक छ । आर्थिक पत्रकारिताको विधामा कृषि पत्रकारिताको महत्वपुर्ण विधा दुग्ध क्षेत्र हो । त्यसैले दुग्ध क्षेत्रको विकासमा पत्रकारिताको महत्वपूर्ण भूमिका रहन्छ ।

१. दुग्ध क्षेत्रको कोलिफर्मको विषयलाई गहिराइमा गएर व्याख्या गरि राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा दुग्ध क्षेत्रमा भएको कोलिफर्मको विषयलाई वास्तविक उपभोक्ताका बिचमा पुर्याउने ।

२. दूधको मूल्यमा भएको भिन्नतालाई मूल्य निर्धारण प्रक्रिया र किसानले औपचारिक क्षेत्रबाट पाएको मूल्य गुणस्तरअनुसार किसानले पाउनुपर्ने र उपभोक्ताले पनि नेपाल सरकारको मापदण्डअनुसारको दूध तथा दूधजन्य पदार्थ पाएका छन् कि छैनन् भन्ने कुराको जानकारी गराउनुपर्ने ।

३.किसानले पालेका गाई भैंसीका लागि आवश्यक दाना, चोक्कर, घाँसको मूल्यलगायतले गर्दा उत्पादन लागत बढेको जानकारी सरोकारवाला पक्षलाई जानकारी गराउँदैं मूल्यवृद्धि नियन्त्रण गर्न भूमिका खेल्नुपर्ने ।

४. नेपाल सरकारले तोकेको मापदण्डअनुसारको दूध तथा दूधजन्य पदार्थ उपभोक्ताले उपभोग गरेका छन् कि छैनन् भन्ने कुराको अनुसन्धान गरि सचेतनामूलक जानकारी गराउने ।

५. दुग्ध उद्योग वा पशुपालन फर्म स्थापना गर्दा सरकारीस्तरमा भए गरेका समस्या, नीति नियम, कार्यविधि, आचासहिंता, किसानले ब्यहोरेका कठिनाई अध्ययन गरि संशोधनको बाटो देखाउने तथा विश्लेषणात्मक सामग्री प्रकाशन तथा प्रशारण गर्नुपर्ने ।

६. दुग्ध क्षेत्र पुर्ण खाद्य र मानिसको स्वास्थ्यसँग सम्बन्धित भएकोले हुचवाको भरमा समाचार नबनाई सवै पक्षलाई समेटेर कुनै पक्षलाई पनि हतोत्साही नबानाइ सामग्री प्रकाशन तथा प्रशारण गर्दा सकारात्मक टिप्पणी प्रेषित गर्नुपर्ने ।

७.संचार माध्यमले दुग्ध क्षेत्रको समस्याका विषय उठान गरिसकेपछि त्यसलाई बिचमा नै नछाडी निरन्तर फलोअप गरि सकारात्मक नतिजा नआउदासम्म प्राथमिकता दिइरहनुपर्ने ।

८.दुग्ध क्षेत्रका विभिन्न मूल्य श्रृंखलाका बारेमा व्यवसायप्रति हतोत्साही नहुने गरि सफलताको कथा, अन्तर्वार्ता, नियमित समाचार प्रकाशन तथा प्रसारण गर्नुपर्ने ।

९. आम उपभोक्ताको स्वास्थ्यलाई सरोकारमा राख्दै दूध उत्पादन, प्रशोधन, दूधको मापदण्डका बारेमा सुसुचित गराउने सामग्रीहरु पस्कुनपर्ने ।

१०. जस्तोसुकै परिस्थितिमा पनि धैयर्ताको बाँध टुट्न नदिनु पत्रकारको विशेषता हो । यस विशेषतालाई थप मजबुत बनाएर कृषक वा दुग्ध क्षेत्रका सरोकारवाला निकायसँग तर्कसंगत अन्तर्वार्ता लिई सधैं सकारात्मक हुनेगरि सुझाव दिनुपर्ने ।

lcci
You might also like

Comments are closed.