बागलुङ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङका सञ्चालकहरुलाई विभिन्न उप-समितिको संयोजक चयन गरेको छ । संस्थाको १६ औं वार्षिक साधारणसभाबाट निर्वाचित सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरुको जिम्मेवारी तोकिएको हो ।
संस्थाको फागुन ७ गते सम्पन्न सञ्चालक समितिको वैठकले सञ्चालकहरुलाई विभिन्न १२ वटा उप-समितिको संयोजकको जिम्मेवारी तोेकेको छ । संस्थाको नियमित कामलाई थप प्रभावकारी बनाउन, संस्थाले बनाएको योजना तथा कार्यक्रमलाई सदस्य र समुदायका बीचमा लैजान तथा सहकारी अभियानप्रतिको विश्वास जगाउने खालका गतिविधि सञ्चालनमा सहयोग पुर्याउने उद्देश्यले उप-समिति गठन गरिएको संस्थाका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु) ले जानकारी दिए ।
सञ्चालक समितिले सूचना, सञ्चार तथा प्रकाशन उप-समितिको संयोजकमा उपाध्यक्ष ललिता थापा, स्वास्थ्य तथा सरसफाई उप)समितिको संयोजकमा सचिव सरस्वती खड्का परियार, नीति निर्माण उप-समितिको संयोजकमा सह-सचिव कमल लामिछाने र ऋण उप-समितिको संयोजकमा कोषाध्यक्ष शान्तिलक्ष्मी श्रेष्ठलाई चयन गरेको छ ।
यस्तै, सञ्चालकहरु गीता खड्कालाई महिला विकास उप-समितिको संयोजक, अम्बिका जिसीलाई शिक्षा तथा तालिम उप-समितिको संयोजक, खीम बहादुर केसीलाई जोखिम व्यवस्थापन उप-समितिको संयोजक, राजकपुर श्रेष्ठलाई व्यवसाय प्रवद्र्धन उप-समितिको संयोजक चयन गरिएको छ ।
सञ्चालक समितिका सदस्यहरु राधिका केसीलाई ऋण असुली उप-समितिको संयोजक, जयराम शर्मालाई बरेङ गाउँपालिका समन्वय उप-समितिको संयोजक, लेख बहादुर जिसीलाई युवा तथा खेलकूद उप-समितिको संयोजक तथा लक्ष्मी पौडेल पन्तलाई पर्यटन प्रवद्र्धन उप-समितिको संयोजक चयन गरिएको अध्यक्ष जिसीले जानकारी दिए ।
सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरुलाई संयोजकको जिम्मेवारी दिइएको र उप-समितिका अन्य सदस्यहरु सेयर सदस्यहरुबाट मनोनयन गरिने अध्यक्ष जिसीले बताए । सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरुलाई उप-समितिको संयोजक चयन गरी सदस्यहरु शेयर सदस्यबाट बनाउने र सम्पूर्ण उप-समितिहरुको अनुगमन अध्यक्षले गर्ने व्यवस्था संस्थाको उप-समिति गठन तथा सञ्चालन कार्यविधिमा रहेको प्रवन्धक दिपकराज सापकोटाले जानकारी दिए ।
सञ्चालक समितिले पछिल्लो समयमा सहकारी क्षेत्रमा देखिएको समस्याका बारेमा सेयर सदस्यहरुलाई सचेत बनाउन विभिन्न सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने, सदस्य भेटौ : सदस्य सुनौ अभियानलाई थप प्रभावकारी बनाउने, सदस्यहरुको सचेतनाका लागि घरदैलो, टोलभेला र वडा भेलाहरु सञ्चालन गर्ने निर्णय गरेको छ ।
सदस्य भेटौ : सदस्य सुनौ अभियान अन्तर्गत फागुन महिनामा सदस्यसँग सेल्फी अभियान सञ्चालन गरेको आदर्श सञ्चारले चैत महिनाभर घरदैलो, टोल भेला, वडा भेला लगायतका कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
संस्थाको सञ्चालक समितिको वैठकले संस्थाद्वारा प्रकाशित धौलागिरी जागरण दैनिकको १६ औं वार्षिकोत्सव आगामी फागुन २३ गते ढोरपाटनमा मनाउने गर्ने निर्णय गरेको छ । संस्थाले पत्रिकाको वार्षिकोत्सव बागलुङ सदरमुकाम भन्दा बाहिर मनाउदै आएको छ । आदर्श सञ्चार सहकारी संस्थाले विगत १६ वर्षदेखि धौलागिरी जागरण दैनिक, ११ वर्षदेखि अग्रसर साप्ताहिक, ४ वर्षदेखि आदर्शसञ्चार अनलाईन सञ्चालन गर्नुका साथै ९ वर्षदेखि धौलागिरी टेलिभिजनमा सहकार्य गर्दै आइरहेको छ ।
संस्थामा हाल ३ हजार ५ सय जना सेयर सदस्य, ६ करोड सेयर रकम, ३० करोड बचत रकम, ३८ करोड कर्जा लगानी सहित कुल ४५ करोड सम्पत्ती रहेको संस्थाका कोषाध्यक्ष शान्तिलक्ष्मी श्रेष्ठले जानकारी दिइन् ।
Comments are closed.