काठमाडौं । दृश्य बहुउद्देश्यीय सहकारी संस्थाको पाँचौँ वार्षिक साधारण सभा यही पौष १८ गते दिउँसो १ बजेदेखि ललितपुरस्थित डिलाइट पार्टी प्यालेसमा सम्पन्न हुने भएको छ । सहकारीका सचिव रमेश सन्जेलका अनुसार पाँचौँ वार्षिक साधारण सभाको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ ।
सहकारीमा आबद्ध ५०० भन्दा बढी शेयर सदस्यहरूलाई साधारण सभासम्बन्धी जानकारी गराउने कार्य निरन्तर भइरहेको उनले जानकारी दिए । सहकारीका अध्यक्ष प्रल्हाद दाहालले वर्तमान आर्थिक चुनौतीका बाबजुद पनि सहकारीले आफ्ना शेयर सदस्यहरूको हितलाई केन्द्रमा राखेर काम गरिरहेको बताए । उनका अनुसार सहकारीमा हाल उल्लेख्य खराब कर्जा नरहेको र आवश्यक परेमा वर्तमान अवस्थामा पनि सुरक्षित रूपमा लगानी गर्न सक्ने अवस्था कायम रहेको छ ।
सहकारीका उपाध्यक्ष टिकाप्रसाद घिमिरेका अनुसार सहकारीको कार्यक्षेत्र तीन जिल्लामा फैलिएको छ । विशेषगरी दुग्ध क्षेत्रमा आबद्ध उद्यमी, किसान तथा व्यवसायीहरूको उल्लेख्य सहभागिता सहकारीमा रहेको उनले जानकारी गराए ।
त्यसैगरी सहकारीका कोषाध्यक्ष दीपप्रसाद धमलाले सहकारीले ठूलो कारोबार नगरे पनि पारदर्शिता, विश्वास र सदस्य सन्तुष्टिलाई प्राथमिकतामा राख्दै सेवा प्रदान गर्दै आएको बताए। उनले साधारण सभामा सम्पूर्ण शेयर सदस्यहरूको सक्रिय तथा अनिवार्य उपस्थिति जनाउन सबैलाई आग्रह गरे ।
सचिव सन्जेलका अनुसार यस पटकको वार्षिक साधारण सभामा आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गरिनेछ । साथै असल बचतकर्ता, असल ऋणी तथा २०८१ सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा हाँसिल गर्ने शेयर सदस्यका सन्तानहरूलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको छ । साधारण सभामार्फत सहकारीको आगामी कार्ययोजना, नीति तथा कार्यक्रमबारे समेत छलफल गरिने जनाइएको छ ।





Comments are closed.