कृषि विकास बैंकको नाफामा ४९% उछाल, ईपिएस २७.६३ रुपैयाँ पुग्यो

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ, जसअनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४८.८८ प्रतिशतले वृद्धि भएको छ ।  गत आर्थिक वर्षको अन्त्यसम्म बैंकले ३ अर्ब ८२ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो, जुन अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ५७ करोड १५ लाख रुपैयाँ थियो ।

खुद ब्याज आम्दानी घटेपनि इम्पेरमेन्ट चार्जमा आएको उल्लेखनीय कमीका कारण नाफामा वृद्धि भएको बैंकले जनाएको छ । समीक्षा अवधिमा खुद ब्याज आम्दानी ६.९३ प्रतिशत र खुद फी तथा कमिशन आम्दानी ७.२१ प्रतिशतले घटेको छ भने कुल सञ्चालन आम्दानी १.८४ प्रतिशतले घटेको छ । तर, इम्पेरमेन्ट चार्ज २ अर्ब ४५ करोड रुपैयाँबाट घटेर १० करोड रुपैयाँमा सीमित भएपछि बैंकको सञ्चालन मुनाफा ४१.२९ प्रतिशतले बढेको हो ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात ३.९१ प्रतिशतबाट घटेर ३.२६ प्रतिशत पुगेको छ। नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (EPS) पनि ९ रुपैयाँ ७ पैसा बढेर २७ रुपैयाँ ६३ पैसा पुगेको छ । असार मसान्तसम्ममा बैंकको मूल्य-आम्दानी अनुपात ११.८४ गुणा र प्रतिशेयर नेटवर्थ २४१ रुपैयाँ ४ पैसा रहेको छ। सो अवधिसम्ममा २ अर्ब ५५ करोड २० लाख रुपैयाँ वितरणयोग्य मुनाफा रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १८ रुपैयाँ ४२ पैसा पुगेको छ ।

हाल बैंकको चुक्ता पूँजी १३ अर्ब ८५ करोड ५२ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १९ अर्ब ८६ करोड रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले २ खर्ब ९३ अर्ब ५७ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १३ अर्ब १४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

You might also like

Comments are closed.