कोरोना कहरबीच गोलभेँडा फलाउँदै सुवेदी

वासुदेव पौडेल/गण्डकी । श्रम र सीप भएमा बेरोजगार बस्नु पर्दैन भन्ने दरिलो उदाहरण बनेका छन् पर्वतको फलेवास नगरपालिका–९ भङ्गर जन्मस्थान भएका कृष्णप्रसाद सुवेदी । कोरोना महामारीका कारण लाखौँ युवा बेरोजगार बनिरहेको अवस्थामा हाल पोखरा महानगरपालिका–३३ बागमारामा बस्दै आएका सुवेदी आफू त स्वरोजगार बनेका छन् नै व्यावसायिक कृषिका माध्यमबाट अरूलाई पनि रोजगारी दिइरहेका छन् ।

पोखरा–३३ बाघमारामा व्यावसायिक च्याउ खेतीका साथै अन्य विभिन्न यामअनुसारका तरकारी लगाएर राम्रो आम्दानी गर्दै आएका सुवेदीले टनेलभित्र लगाउएका गोलभेँडा यतिखेर बजारमा पुग्न थालेका छन् । कोरोना कहरबीच पनि टनेलबाटै गोलभेँडा बिक्री हुन थालेपछि उनलाई बजारको चिन्ता छैन । “निषेधाज्ञाका कारण बाहिरबाट तरकारी नआउने भएकाले उत्पादन गर्न सके बारीबाटै बिक्री हुन्छ”, उनले भने ।

तीन टनेलमा गोलभेँडा राम्रै फलेको बताउँदै उहाँले बजारमा बिक्रीसमेत हुन थालेको जानकारी दिए । अघिल्लो याममा च्याउ खेतीबाट झण्डै रु पाँच–छ लाखसम्म आम्दानी गरेको उनले जानकारी दिए । आगामी दिनमा कुरिलो खेती गर्ने उनको सोच छ । जारी निषेधाज्ञाका कारण कच्चापदार्थको अभावका साथै काम गर्ने मजदूरको पनि अभाव हुँदा भने समस्या पर्ने गरेको उनको भनाइ छ ।

यसअघि सिमी र काँक्राबाट राम्रै आम्दानी हुने लक्ष्य राखे पनि असिनाका कारण क्षति ब्यहोर्नुपरेको उनले बताए । एक याम च्याउ फलेपछि एकदुई महिना जति ठाउँ खुल्ला गरेमा राम्रो उत्पादन हुने गरेको अनुभव सुनाउँदै उनले वर्षमा दुई याम च्याउ लगाउने गरेको जानकारी दिए ।

व्यावसायिक कृषिमा सुवेदीको लगाव भने वैदेशिक रोजगारीबाट फर्केपछि हो । डेढ दशकअघि तीन वर्ष वैदेशिक रोजगारीमा मलेसिया गएका उनलाई स्वदेशमा नै केही गर्नुपर्छ भन्ने सिकायो । विदेशको अनुभव र भोगाइ बटुल्दै फर्कनुभएका सुवेदी त्यसपछि भने कहिल्यै विदेश गएनन् ।

विदेशबाट फर्केपछि च्याउ खेतीमा लागेका सुवेदी हाल दाजुभाइ च्याउ फार्म सञ्चालन गर्दै यसको व्यावसायिक खेतीमा निरन्तर लागेका छन् । मलेसियाबाट फर्केलगत्तै पोखराको मझेरी पाटनमा दुई रोपनी जग्गा लिएर शुरु गरेको च्याउ खेतीबाट आफू व्यावसायिक खेतीतर्फ आकर्षित भएको उनले बताए । त्यसयताको १५ वर्षे समयावधिमध्ये विभिन्न स्थानका साथै पछिल्ला ६ वर्षको समय पोखरा महानगरपालिका–१९ चितेपानीमा च्याउखेती गरेका सुवेदीले हाल भने बाघमारास्थित महाकाली चोकमा च्याउ खेतीसहित तरकारी खेती गर्दै आएका छन् ।

व्यावसायिक च्याउ खेतीमा राम्रो सम्भावना भएर नै आफूले डेढ दशक यसैमा समय बिताएको अनुभव सुनाउँदै उनले अघिल्लो वर्ष कोरोना महामारीभन्दा अघिसम्म यस व्यवसायबाट मासिक रु दुई लाखसम्म आम्दानी हुने गरेको जानकारी दिए । कोरोना शुरु हुनुभन्दा अघिसम्म राम्रै आम्दानी हुने गरे पनि त्यसयता अपेक्षित आम्दानी नहुने गरेको र कतिपय अवस्थामा घाटासमेत ब्यहोर्नु परेको उनको भनाइ छ । कोरोनाको दोस्रो भेरियन्टका कारण व्यावसायिक रुपमा केही गर्छु भन्नेका लागि पुनः चुनौती खडा भएको उनले बताए ।

कोरोना महामारीसँगै हुने गरेका निषेधाज्ञा आदिले सामान ढुवानीलगायत कृषिजन्य उत्पादनका लागि आवश्यक कच्चापदार्थ ल्याउन समस्याका पर्ने गरेको कृषकको गुनासो छ । तामक्रमको सन्तुलन मिलाउन सकेमा च्याउ खेती बाह्रै महिना गर्न सकिने सुवेदीको अनुभव छ । यसका लागि २० देखि २८ डिग्री सेन्टिग्रेड तापक्रम आवश्यक पर्दछ । सरकारले च्याउ खेतीका लागि तापक्रम अनुकूलित टहरा बनाइदिने हो भने कृषकलाई ठूलै राहत मिल्ने उनले बताए । च्याउ लगाइएको तीन महिनामा उत्पादन दिने उनले सुनाए । कोरोना कहरका रोजगारी गुमाएका युवालाई व्यावसायिक कृषिमा लाग्न सके बेरोजगार बस्नु नपर्ने सुवेदीको सुझाव छ ।

You might also like

Comments are closed.