सहज हवाई यातायातका लागि अनलाइन टिकटको व्यवस्था गर्न माग

जुम्ला । कर्णालीमा सहज हवाई यातायात नभएको भन्दै अनलाइन टिकटको व्यवस्था गर्न माग गरिएको छ। दुर्गम हिमाली जिल्ला हुम्ला, मुगु, डोल्पा तथा जुम्लाका नागरिकको सहज यातायातका लागि अनलाइन टिकट अनिवार्यरुपमा लागू हुनुपर्ने माग गरिएको हो।

दुर्गमका नागरिकको हवाई यातायातको समस्या सम्बोधन गर्नका लागि आवश्यक पहल गर्न गृह मन्त्रालयलगायत निकायलाई अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए ।

यसमा अनलाइन टिकटको व्यवस्था नहुँदा कालोबजारी बढ्नाका साथै टिकट लिनका लागि अनावश्यक भिडभाड र झैझगडा हुँदा शान्तिसुरक्षा प्रदान गर्नसमेत चुनौती थपिएको उनले बताए।

उनका अनुसार कर्णालीमा सेवारत नेपाल एयरलायन्स, सीता, तारा र समिट एयरलायन्सले हवाई टिकट व्यवस्थित नगर्दा यात्रुले हैरानी खेप्नुपरेको छ।

मुगुलगायत माथिल्लो कर्णालीका सबै जिल्लाका यात्रुको चापको अनुपातमा नियमित हवाई उडान र त्यसका लागि एयरलायन्सको हवाई टिकट वितरण अनलाइन प्रणालीमार्फत हुन सकेमात्र यहाँका नागरिकलाई सहजता मिल्ने महतले बताए।

अनलाइन टिकट वितरण सञ्चालनमा ल्याउन सर्वदलीय बैठक बसेरै यसअघि निर्णय गरिसकेको जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले बताए ।

You might also like

Comments are closed.