काठमाडौं । पछिल्लो समय काठमाडौँ उपत्यकामा वायु प्रदूषणको स्तर अत्यधिक बढेको छ । प्रदूषण बढेसँगै उपत्यकाको आकाश धमिलो देखिएको छ भने घामसमेत राम्रोसँग लाग्न सकेको छैन ।
आज बिहानैदेखि काठमाडौं को मौसम धुम्म देखिएको छ । दृश्य क्षमता घटेका कारण यातायात सञ्चालन तथा हवाई उडानमा समेत सामान्य प्रभाव परेको जनाइएको छ । हावामा धुलोका कण र धुवाँको मात्रा बढेकाले सर्वसाधारणले आँखा पोल्ने तथा श्वासप्रश्वासमा असहजता महसुस गरिरहेका छन् ।
वातावरण विभाग का अनुसार उपत्यकाको वायु गुणस्तर सूचकांक (AQI) जोखिमपूर्ण स्तरमा पुगेको छ। लामो समयदेखि हिउँदे वर्षा नहुनु र देशका विभिन्न भागमा लागेको डढेलोको धुवाँ हावासँगै उपत्यकामा प्रवेश गरेकाले प्रदूषण ह्वात्तै बढेको मौसमविद्हरूले बताएका छन् ।
स्वास्थ्य विज्ञहरूले विशेषगरी बालबालिका, वृद्धवृद्धा तथा श्वासप्रश्वाससम्बन्धी दीर्घरोगीहरूलाई सकेसम्म घरबाहिर ननिस्कन सुझाव दिएका छन् । अत्यावश्यक अवस्थामा बाहिर निस्कनुपरेमा गुणस्तरीय मास्क प्रयोग गर्न पनि उनीहरूले आग्रह गरेका छन् ।
मौसमविद्हरूका अनुसार तत्काल ठूलो वर्षा हुने वा तीव्र हावा चल्ने सम्भावना कम रहेकाले आगामी केही दिनसम्म प्रदूषणको अवस्था यथावत् रहन सक्ने अनुमान गरिएको छ । सम्बन्धित निकायले अनावश्यक रूपमा सवारी साधन नचलाउन र फोहोर नजलाउन सर्वसाधारणलाई अपिल गरेका छन् ।






Comments are closed.