हवाई सुरक्षामा प्रतिकुल असर पार्ने कुनैपनि गतिविधि नगर्न वायुसेवा सञ्चालक संघको आग्रह

काठमाडौं । हवाईसेवा सम्वेदनशील सेवा भएकाले हवाई सुरक्षामा प्रतिकुल असर पार्ने कुनैपनि गतिविधि नगर्न वायुसेवा सञ्चालक संघ नेपालले सम्पूर्णमा आग्रह गरेको छ । संस्थाका अध्यक्ष मनोज कार्कीले एक विज्ञप्ति जारी गदै वायुसेवा कम्पनीहरुले अहोरात्र खटीई आफ्ना सेवा प्रदान गरि रहेका वेला भ्रम सिर्जना हुने खालका गतिविधि नगर्न पनि सम्पूर्णमा आग्रह गरेका छन् ।

‘विगत केही दिनदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडानहरु अत्याधिक हवाई चापका कारणले समयमा उडान नभई ढिलाई भइरहेको तथा वायुसेवा कम्पनीहरुले नेपाल सरकारले तोकिएको दरमा नै हवाई टिकट बेचिरहेको अवस्थामा पनि महँगो दरमा हवाई टिकट बेचिएको भनी हाम्रा सदस्य वायुसेवा कम्पनीहरुको चैक ईन काउण्टर तथा अफिसहरुमा गई आम जनसमुदायलाई भ्रम उत्पन्न गर्ने खालका अनर्गल प्रचार प्रसार गरी कर्मचारीहरु माथि अभद्र व्यवहार तथा हुलहुज्जत भएकोप्रति यो संघ घोर भत्र्सना गर्दछ । सो कार्यमा संलग्नहरुको पहिचान गरि कानूनी रुपमा कारवाही गर्न समेत यो संघ माग गर्दछ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

हवाईसेवा सम्वेदनशील सेवा भएकाले यस प्रकारको गतिविधिले हवाई सुरक्षामा प्रतिकुल असर पार्ने हुदाँ सम्वन्धित सबै निकाय चनाखो भई यस प्रकारको घटनालाई निरुत्साहित गर्न माग गरिएको छ ।

‘विगत केही दिन अघि आएको अविरल वर्षाको कारण देशका विभिन्न भागहरुमा बाढी पहिरो जानुका साथै सडक तथा सञ्चार संजालहरु पूर्ण रुपमा विक्षेद भएको तथा हिन्दूहरुको महानचाड बडा दशैं नजिकिदै गई रहेको अवस्थामा वायुसेवा कम्पनीहरुले अहोरात्र खटीई आफ्ना सेवा प्रदान गरि रहेका वेलामा यस्ता घटना घट्नु निन्दनीय छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसरी नागरिकको सेवामा अहोरात्र खटिने कर्मचारीहरुलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिन नसकेमा सुरक्षाको कारणले सम्पूर्ण नियमित उडानहरु बाध्य नै स्थगन गर्नुपर्ने अवस्था सृजना हुनेतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण यही प्रेस विज्ञप्ति मार्फत गराईन्छ ।’

विपद्को घडिलाई मध्यनजर गर्दै सदस्य वायुसेवा कम्पनीका हवाईजहाज तथा हेलिकप्टरहरुले आफ्नो नियमित उडान नगरी प्रभावित नागरिकहरुको उद्धार कार्यमा अहोरात्र खटिएको पनि संघले जनाएको छ । ‘यात्रु महानुभावहरुको सुविधालाई ध्यानमा राखि सदस्य बायुसेवा कम्पनीहरुले आफ्नो उडान संख्या समेत थप गरेको व्यहोरा स्मरण गराउन चाहन्छौं,’ विज्ञप्तिमा उल्लेख छ ।

 

lcci
You might also like

Comments are closed.