काठमाडौं । नाडाको बर्तमान कार्यसमितिमा उपाध्यक्ष रहेर काम गरिरहेका आकाश गोल्छा आगामी कार्यकालका लागि अध्यक्षका उम्मेदवार ध्रुवबहादुर थापा प्यानलबाट कार्यसमिति सदस्यमा उम्मेदवार बनेका छन् । पदाधिकारी बन्नका लागि कार्यसमितिमा निर्वाचित हुनुपर्ने प्रावधानका कारण उनी कार्यसमितिको उम्मेदवार बनेका हुन् ।
अध्यक्षमा थापालाई जिताउने अभियानमा अग्रमोर्चामा रहेर चुनावी अभियानमा खटिएका गोल्छाले नाडामा ४ कार्यकाल काम गरिसकेका छन् । यस अगाडि ३ कार्यकाल कार्यसमिति सदस्य भएर उनले नाडामा योगदान पुर्याइसकेका छन् । अटोमोबाइल व्यवसायमा २१ वर्षको अनुभव संगालेका गोल्छाले आगामी निर्वाचनमा आफ्नो प्यानलको जित सुनिश्चित भएको दावी गर्छन् ।
राजधानी काठमाडौंसहित प्रदेश तथा जिल्लास्तरबाट पनि आफूहरुको पक्षमा सकारात्मक माहोल बनेको गोल्छाले बताए । ‘हामीले सबै व्यवसायीलाई समेटेर राम्रो व्यावसायिक टिमको प्यानल बनाएका छौं,’ उनले भने, ‘हाम्रो नारा अनुसार नाडालाई सबै व्यवसायीको साझा बनाउने अभियानमा हामी छौं । जुन अभियानमा सफल हुनेछौं ।’
संस्थामा नीतिगत सुधार, सचिवालय सुधार तथा सचिवालयलाई आधुनिक र प्रविधिमैत्री बनाउने, नाडा अटो सोलाई अझै व्यवस्थित गर्ने, सदस्यहरुको क्षमता अभिबृद्धि गर्ने, डाटा हव निर्माण गर्ने लगायत प्यानलका प्रतिबद्धता पुरा गर्न आफ्नो टिम प्रतिबद्धता रहेको गोल्छाले बताए । ‘चुनावी अभियानका क्रममा हाम्रो प्यानलबाट भएका प्रतिबद्धता हामीले पुरा गर्नेछौं,’ उनले भने । नाडालाई सबैको साझा बनाउने अभियानमा देशभरका अटोमोबाइल व्यवसायीहरुको साथ आफूहरुले पाउने उनको विश्वास छ ।
Comments are closed.