काठमाडौं । भन्सार विभागले निकासी पैठारी संकेत नम्बर (एक्जिम कोड) लिनका लागि अनिवार्य गरिँदै आएको तीन लाख रुपैयाँ बराबरको जमानत व्यवस्थालाई हटाएको छ । यससँगै, जमानत राखेका सबै पैठारीकर्ताका बैंक जमानत फुकुवा हुने भएका छन् ।
विभागले वाणिज्य बैंकहरूलाई पत्र लेख्दै विभिन्न पैठारीकर्ताहरूले एक्जिम कोडका लागि राखेका जमानत फुकुवा गरिदिन आग्रह गरेको छ । विभागले राष्ट्र बैंकलाई समेत पत्राचार गरी कार्यान्वयन सहज बनाउन पहल गरेको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हालै प्रस्तुत गरेको बजेटमार्फत एक्जिम कोड लिन जमानत राख्नुपर्ने व्यवस्था हटाउने घोषणा गरेका थिए । सोहीअनुसार नियमावली संशोधन गरेर कार्यान्वयनमा ल्याइएको हो ।
भन्सार विभागका अनुसार हालसम्म झण्डै १५ हजार एक्जिम कोड जारी भइसकेका छन् । एक्जिम कोड अन्तर्राष्ट्रिय व्यापार गर्न आवश्यक अनुमतिपत्र हो, जसको प्रयोग आयात तथा निर्यातका लागि अनिवार्य मानिन्छ ।
नेपालले हाल १६१ वटा मुलुकसँग व्यापार गर्दै आएको छ। तीमध्ये ३७ मुलुकसँग व्यापार नाफा र १२४ मुलुकसँग व्यापार घाटा रहेको छ ।
भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ११ महिनामा नेपालले अफगानिस्तानसँग सबैभन्दा बढी व्यापार नाफा गरेको छ । यस अवधिमा नेपालले अफगानिस्तानबाट ४ करोड २५ लाख २० हजार रुपैयाँ बराबरको वस्तु आयात गरेको छ भने ७४ करोड १८ लाख ३६ हजार रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ ।
त्यस्तै, नेपालले डेनमार्क, रसिया, रोमानिया, लाओस, आइसल्याण्ड, माल्दिभ्स, यमन, माल्टा, क्रोएसिया लगायतका ३७ मुलुकसँग पनि व्यापार नाफा गरेको जनाएको छ ।
Comments are closed.