अम्रिसोः कृषि व्यवसाय, भू–संरक्षणदेखि निर्यातसम्म

राजकुमार कार्की

अम्रिसो (कुचो) मानवीय जीवन पद्धत्तिको एउटा अभिन्न हिस्सा हो । मानव सभ्यताको विकासक्रमको प्रारम्भिक चरणको कृषिकालीन समयदेखि नै अम्रिसोको महत्वपूर्ण योगदान छ । गाईवस्तुपालनबाट मानवीय आवश्यकताहरु परिपूर्ति गर्नुपर्ने मूलतः दुग्धजन्य पदार्थ, माछा, मासु लगायत परम्परागत खेतीको लागि खनजोत गर्ने र वस्तु विनियम प्रणालीमा आधारित यिनीहरुको प्रमुख आहार घाँस नै थियो । घाँसको प्रमुख स्रोत अम्रिसो रहेको प्रष्ट छ । हाम्रो पूर्वीय दर्शन तथा सभ्यतामा अझ विशेषगरी नेपालमा त कुचोको प्रयोग धेरै पूरानो समयदेखि नै सुरुवात भएको हो ।

हिन्दु धर्मावलम्वीहरुले कुचोलाई लक्ष्मीको रुपमा धनधान्यको प्रतीकको रुपमा मान्ने गर्दछन् । धनतेरश र लक्ष्मी पूजामा अनिवार्य रुपमा कुचो खरिद गरी पूजा गर्ने चलन छ । कुचो ठड्याएर राख्नु हुँदैन, कोही घरका सदस्य बाहिर जाँदा बढार्नु हुँदैन जस्ता जनश्रुतीगत मान्यता आजसम्म पनि प्रचलनमा छ । मूलत ः हिउँ नपर्ने समग्रमा नेपालका पहाडी क्षेत्रहरुमा अम्रिसोको खेती गर्न सकिन्छ । हाल नेपालका पूर्वी पहाडहरु इलाम, पाँचथर, ताप्लेजुङ, सङ्खुवासभा, धनकुटा लगायतका ठाउँहरुमा पूर्ण व्यावसायिक खेती भइरहेको छ भने सिन्धुली, काभ्रे, दोलखामा व्यावसायिक खेती हुँदै पश्चिमी पहाड पाल्पामा समेत व्यावसायिक खेती भएको पाइन्छ ।

नेपालको झापाको धुलाबारी अम्रिसोको प्रमुख व्यावसायिक केन्द्र हो । मधुमल्ला, विराटनगरमा पनि व्यावसायिक केन्द्र विकास हुँदैछ । यी व्यावसायिक केन्द्रबाट वार्षिक रुपमा करिव १ अर्बको हाराहारीमा अम्रिसो निर्यात भइरहेको छ । नेपालका प्रमुख शहरहरु काठमाडौं, विरगन्ज, भैरहवा, जनकपुर, काभ्रेको पनौती लगायतका ठाउँहरुमा आन्तरिक खपतका लागि कुचो निर्माण गर्ने र विभिन्न उद्योगहरु सञ्चालन भइरहेका छन् । निर्यातको हाराहारीमा नै नेपालको आन्तरिक खपत भइरहेको अनुमानित तथ्याङ्क छ । यसरी हेर्दा कृषिजन्य बालीमा १ अर्बको निर्यात योगदान छ । आन्तरिक खेतीमा आत्मनिर्भर बन्नु चानचुने कुरा होइन । अम्रिसो खेती विस्तारले पशुपालनमा समेत वृद्धि भइरहेको कुरालाई आत्मसात् गर्नुपर्दछ ।

अम्रिसो (कुचो) खेतीको महत्व
(क) भू–संरक्षण: भूक्षय भई पहिरो गएर वर्षेनी धेरै ठूलो क्षती भइरहेको छ । भु–स्खलन हुने क्षेत्रहरुमा अम्रिसो रोपियो भने अम्रिसोको जरा, माटोको भित्रि भागसम्म प्रवेश गर्ने र यसले माटोलाई बाँधेर समेत राख्ने हुँदा भूक्षय र पहिरोलाई नियन्त्रण गर्न ठूलो टेवा पुग्दछ ।

ख) वातावरणीय सन्तुलन र पर्यटन:  विश्व नै अहिले ग्लोबल वार्मिङको कारण तापमान वृद्धि हुने क्रम जारी छ । यो वैश्विक समस्या हो । वातावरणको परिवर्तनले आज दुनियाँमा वातावरणीय असन्तुलन जारी छ । अम्रिसो खेतीको बिस्तारले केही हदसम्म भएपनि वातावरणीय प्रदुषणलाई नियन्त्रण गर्दछ । तसर्थ वातावरणीय सन्तुलन मिलाउन यसको खेती विस्तारको आवश्यकता छ । हरियो अम्रिसोको बोट अझ यो फूलेको सिजनमा अत्यन्त मनमोहक र आकर्षक देखिन्छ । यसको व्यावसायिक खेती भएको क्षेत्रमा विभिन्न मनोरञ्जनका स्थलहरु विशेषगरी वनभोजस्थलहरु निर्माण गरी पर्यटनलाई बढाउन सकिन्छ । पाल्पा, इलाम लगायतका क्षेत्रहरुमा यसको प्रयोग हुन थालेको छ । अन्य क्षेत्रहरुम प्रयोग हुन थालेको छ । यसलाई अन्य क्षेत्रहरुमा समेत बिस्तार गर्न सकिन्छ ।

(ग) पशुपालनमा वृद्धि: अम्रिसोको घाँस पशुचौपायाहरुलाई अत्यन्त पौष्ट्रिक हुने गर्दछ । अम्रिसोको फूल (कुचो) निकालिसकेपछि यो हरियो घाँसको रुपमा प्रयोग गरिन्छ । पौष्ट्रिक घाँस हुने भएकाले पशुपालकहरुका लागि वरदानको रुपमा लिइन्छ । खेती वृद्धिसँगसँगै पशुपालनमा पनि वृद्धि हुनेछ । जसबाट पशुजन्य मासु र दूधको उत्पादन वृद्धि हुन जान्छ । अम्रिसो र पशुपालनबीचको अन्योन्याश्रित सम्बन्ध छ । किसानहरुका लागि अम्रिसो घाँसको रुपमा र यसको फूल कुचोको रुपमा बिक्री हुने गर्दा पशुपालन वृद्धिको अतिरिक्त नगदी आय पनि हुनेछ ।

(घ) महिलाहरुको आयआर्जन: सरसफाईको लागि कुचोको विकल्पका रुपमा प्लाष्ट्रिकजन्य कुचोहरु बजारमा आएतापनि भारत तथा नेपाली नागरिकहरुको पहिलो रोजाई अम्रिसोको कुचो नै हो । पहाडमा हुने महिलालाई कुचो बनाउने तालिम दिएर कुचोहरु निर्माण गर्दा महिलाहरु स्वावलम्बी बन्नुका साथै आयआर्जनमा वृद्धि हुनेछ । नेपाल कुचो संघ व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, स्थानीय पालिकाहरु र विभिन्न संघ तथा सहकारीहरुले गाउँ–गाउँमा यस्ता तालिमहरु समय समयमा दिने गरेका छन् । यसलाई अझ प्रभावकारी ढंगले विस्तार गर्नुपर्ने आवश्यकता छ ।

(ङ) निर्यातको प्रमुख स्रोत: वर्षेनी १ अर्बको हाराहारीमा नेपालबाट अर्धप्रशोधित कुचो निर्यात हुने गरेको छ । प्रमुख निर्यात हुने देशमा भारत पर्दछ । थोरै मात्रामा बंगलादेशमा निर्यात हुने गर्दछ । नेपालका प्रमुख व्यापारिक केन्द्रहरुबाट अर्धप्रशोधित कुचो निर्यात हुँदै आएको छ । भारतीय बजारको आवश्यकतालाई हेरेर पूर्ण प्रशोधित कुचो निर्यात गर्न सके थप नाफा र निर्यातमा वृद्धि हुन्छ । बंगलादेशमा करको कारण निर्यातमा समस्या छ । यसलाई सम्बोधन गर्न सके निर्यातको प्रमुख नगदेवालीमा अम्रिसोलाई लिन सकिन्छ ।

(च) अतिरिक्त आम्दानीको स्रोत: अम्रिसोको फूल कुचोको रुपमा प्रयोग हुन्छ । यसको पत्ता घाँसको रुपमा प्रयोग हुन्छ । डाँठ कुचो बनाउँदा हेन्डलको रुपमा प्रयोग गरिन्छ भने गाउँघरमा आगो बाल्न समेत प्रयोग हुने हुँदा रुखको प्रयोग जुन दाउरामा हुन्छ, यसलाई कम गर्न सकिन्छ । अतिरिक्त यसको पातबाट पेपर कागजात समेत बन्ने हुँदा यसको अनुसन्धान गरेर यसको प्रयोग बढाउन सकिन्छ ।

अम्रिसो प्रवद्र्धनका लागि गर्नुपर्ने कार्यहरु
विश्वमा भारत र नेपाल अम्रिसोका प्रमुख उत्पादकहरु हुन् । यसको अतिरिक्त वर्मा, लाओस, इण्डोनेसिया आदि देशहरुमा पनि अम्रिसो उत्पादन हुने गर्दछ । नेपालको सन्दर्भमा अझैपनि अम्रिसो खेती गर्न योग्य प्रशस्त खाली जमिनहरु छन् । वनमाराले ढाकेका केही उत्पादन नहुने पहाडहरुमा अम्रिसो खेतीबाट मनग्य आम्दानी लिन सकिन्छ र लिइरहेको अवस्था पनि छ । अम्रिसो खेतीलाई प्रोत्साहन गर्न निजि क्षेत्रले मात्र सम्भव छैन । निजि क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघले कुचोको व्यावसायीक प्रवद्र्धनका लागि नेपाल कुचो संघलाई वस्तुगत सदस्यता प्रदान गरी सहयोग गरिरहेको छ । तर यो मात्रा प्रयाप्त होइन । विशेषगरी राज्यले अम्रिसो खेती विस्तार र पशुपालन वृद्धिका लागि कृषिमैत्री कार्यक्रम ल्याउन आवश्यक छ ।

स्थानीय सरकारहरुले प्रत्यक्ष रुपमा प्रेरक कार्यक्रमहरुलाई ल्याएर प्रेरणा दिनुपर्दछ । भारतको सिक्किममा कृषकहरुलाई खेतीको आधारमा नगद अनुदान दिने चलन छ । नेपालमा कुचो किसानबाट व्यापारी सम्म पुग्दा विभिन्न खाले स्थानीय करहरु लिने गरिन्छ । यसलाई सरल र सहज बनाउन जरुरी छ । कुचो निर्यातकर्तालाई नगद अनुदान दिदा व्यावहारिक बनाउन जरुरी छ । तेस्रो देश निर्यातमा विशेष गरेर बंगलादेशको निर्यातमा हुने भारी करलाई सरलीकृत गर्नुपर्दछ । पूर्ण प्रशोधित कुचो निर्यात गर्ने व्यावहारिक र सरलताका नीतिहरु अख्तियार गर्ने हो भने केही वर्षमै अहिलेको दोब्बर कुचो निर्यात हुनेमा शङ्का छैन ।

परापूर्वकालदेखि नै धनकी देवी लक्ष्मीको प्रिय वस्तुको रुपम कुचोलाई लिइने गरिन्छ । नेपाल आफैमा प्राकृतिक रुपमा सुन्दर छ । यसको सुन्दरतामा अरु मनमोहक र सुन्दर बनाउन खेती विस्तार गर्नुपर्दछ । केही उत्पादन हुन नसक्ने डाँडापाखाहरुमा हरियाली सिर्जना गर्न अम्रिसो एउटा महत्वपूर्ण विकल्प हुन्छ । हरियो अम्रिसोको फूलहरु कुचोको रुपमा प्रयोग हुने, भूक्षय रोक्ने, बाह्य निकासी हुने र पशुपालन समेत वृद्धि हुने हुँदा यो एक पटक लगाएपछि १० देखि १५ वर्ष उत्पादन हुने वहुवर्षीय वाली भएकाले यसको विशेष महत्व छ । तसर्थ, जनश्रुति पनि छ, ‘हरियो कुचोबाट राम्रो आम्दानी हुने भएकाले यसबाट हरियो धन प्राप्त हुन्छ’ । समृद्धिको यात्रामा नेपाली कृषकहरुको जीवनस्तर सुधार्न अम्रिसोको खेती र यसबाट बन्ने कुचोको प्रवद्र्धनमा लाग्नु हाम्रो मौलिक आवश्कता पनि हो । तसर्थ, जनश्रुति पनि छ, ‘हरियो कुचोको राम्रो नगद ।’ (लेखक कार्की नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य हुन् ।)

 

You might also like

Comments are closed.