इक्यानको केन्द्रीय सदस्यमा अनन्त राज घिमिरेको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को कार्यसमिति सदस्यमा अनन्त राज घिमिरेले उम्मेदवारी घोषणा गरेका छन् । पुस २८ गते हुने २०औं वार्षिक साधारणसभाले इक्यानमा नयाँ कार्यसमिति चयन गर्नेछ ।

लामो समयदेखि इक्यानका विभिन्न नेतृत्व विकास कार्यक्रमहरूमा सक्रिय घिमिरेले ‘सबल संस्था, नैतिक परामर्श र साझा भविष्य’ को नारासहित आफ्नो उम्मेदवारी सार्वजनिक गरेका छन् ।

कर्पोरेट ट्रेनर, विजनेश कन्सल्टेन्ट तथा शैक्षिक व्यक्तित्वको पहिचान बनाएका घिमिरेले इक्यानलाई पारदर्शी, नैतिक र उत्तरदायी संस्था बनाउने संकल्प व्यक्त गरेका छन् । उनले त्रिभुवन विश्वविद्यालय (केन्द्रीय व्यवस्थापन विभाग) मा भिजिटिङ फ्याकल्टी र विभिन्न कलेजहरूमा निर्देशकको रूपमा काम गरिसकेका छन् ।

‘मेरो प्राथमिकता पद होइन, दायित्वको नेतृत्व हो । शैक्षिक परामर्शलाई व्यापार मात्र नभई जिम्मेवार सार्वजनिक विश्वासको अभ्यासका रूपमा स्थापित गर्न मेरो उम्मेदवारी हो,’ उनले भने ।

सदस्य सशक्तीकरण, केन्द्र र शाखाबीचको प्रभावकारी समन्वय, सदस्यहरूको क्षमता विकासका लागि निरन्तर तालिम र आर्थिक–प्रशासनिक पारदर्शितालाई मुख्य कार्यभार बनाउने उनको प्रतिबद्धता छ ।

व्यावसायिक शिक्षा र संस्थागत नेतृत्वमा लामो अनुभव भएका घिमिरेको उम्मेदवारीलाई इक्यानभित्र बौद्धिक र गतिशील नेतृत्वको आगमनका रूपमा हेरिएको छ ।

You might also like

Comments are closed.