शुरु भयो गोरखामा निःशुल्क पशु बीमा कार्यक्रम

गोरखा । गोरखा जिल्लामा निःशुल्क पशु बीमा कार्यक्रम शुरु भएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत जिल्लाभित्रका पशुपालक किसानका लागि निःशुल्क पशु बीमा कार्यक्रम शुरु गरिएको केन्द्रका प्रमुख डा इन्द्रबहादुर भट्टले जानकारी दिए ।
चालु आर्थिक वर्षदेखि गण्डकी प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले विनियोजन गरेको ४२ लाख रुपैयाँ बजेटमार्फत कार्यक्रम शुरु भएको उनले बताए ।

“यसअघि जिल्लाभित्रका पशुपालक कृषकहरुले पशुपन्छी बीमाबापतको रकमको २५ प्रतिशत रकम आफैँले व्यहोर्नु पर्थ्यो”, प्रमुख डा भट्टले भने, “अब यो कार्यक्रम लागू भएसँगै कृषकहरुले किसानहरुले पशुवस्तुको बीमा गरेबापत कत्ति पनि रकम तिर्नु नपर्ने भएको छ ।” निःशुल्क पशुपन्छी बिमा कार्यक्रमअन्तर्गत एकजना किसानले अधिकतम एक करोड रुपैयाँ सम्मको बीमा गराएबापत लाग्ने खर्च कार्यालयले तिरिदिने उनले बताए ।

बिमा रकम भुक्तानीका लागि किसानले आफ्ना पशुवस्तुको बीमा गरेको कागजात पेश गर्नुपर्ने प्रमुख डा भट्टले जानकारी दिए । “किसानले बिमा कम्पनीमार्फत पशुवस्तुको बीमा गर्छन्, बीमा गरिसकेपछि किसानले बीमाबापत भुक्तानी गरेको नगदी रसिद, बैंक खातासहित कार्यालयमा निवेदन दिनुपर्छ”, उनले भने, “त्यसबाहेक कृषि फार्म भए फार्मको दर्ता प्रमाणपत्र र व्यक्ति भए नागरिकता उपलब्ध गराएपछि प्रक्रिया पु¥याएर रकम भुक्तानी गरिदिन्छौँ ।”

jutta mela

कार्यक्रम शुरु भएलगत्तै १२ जना कृषकले आफ्ना पशुवस्तुको निःशुल्क बीमा गराइसकेको उनले जानकारी दिए । त्यसबापत किसानलाई एक लाख ८२ हजार २७९ रुपैयाँ भुक्तानी भइसकेको छ । अहिलेसम्म गोरखा नगरपालिका, सिरानचोक गाउँपालिका र पालुङटार नगरपालिकाका किसानले आफ्ना पशुवस्तुको निःशुल्क बीमा गराइसकेको उनको भनाइ छ । अहिलेसम्म निःशुल्क बीमा गर्नेहरुमा कुखुरापालक किसान बढी रहेको प्रमुख डा भट्टले बताए ।

निःशुल्क पशुपन्छी बीमा कार्यक्रमका लागि प्रदेश सरकारबाट ४२ लाख रुपैयाँ बजेट प्राप्त भएको उनले जानकारी दिए । “अहिलेसम्म कति जना किसानका पशुपन्छी निःशुल्क बीमा गरिदिने भन्ने छैन”, प्रमुख डा भट्टले भने । अहिलेसम्ममा किसानले करिब आठ लाख रुपैयाँ बराबरको निशुल्क बीमा गराइसकेको उनले जानकारी दिए । गोरखामा प्रिडुन्सियल जनरल इन्स्युरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्युरेन्स कम्पनीले पशुपन्छीको बीमा गराउँदै आएको छ ।

You might also like

Comments are closed.