शैक्षिक भ्रमणमा पोखरा आउने विद्यार्थीलाई अन्नपूर्ण केवलकारको विशेष अफर

पोखरा । पोखराको एक मात्र केवलकार कम्पनी अन्नपूर्ण केवलकार लि.ले शैक्षिक भ्रमणमा आएका विद्यार्थीलाई विशेष प्राथमिकता तथा छुटमा केबलकार चढाउने भएको छ ।

देशभरका धेरै विद्यालयहरुले विद्यार्थीलाई पोखरामा शैक्षिक भ्रमणका लागि लिएर आउने गर्छन् । पोखरा आउने विद्यार्थीको पहिलो गन्तव्य मध्यमा सराङकोट पनि पर्दै आइरहेको छ । शैक्षिक भ्रमणमा आउने विद्यार्थी केबलकारमा चढेर फेवाताल, पोखरा तथा आसपासका दृश्य र हिमालयलाई नियाल्दै सराङकोट पुग्न सकोस् भन्ने उद्देश्यले विशेष छुट प्रदान गरिएको मार्केटिङ म्यानेजर अरुण कोइरालाले जानकारी दिए ।

पोखराको सेदीबाट केबलकार चढेर सराङकोट पुगेर सेदीसम्म फर्किएको नेपाली नागरिकले ७ सय रुपैयाँ शुल्क तिर्नुपर्छ । विद्यार्थीका लागि २५ प्रतिशत छुट उपलब्ध गराएर प्रति टिकट ५ सय २५ रुपैयाँ कायम गरिएको छ । उक्त टिकटमा पनि २० प्रतिशत छुट उपलब्ध गराइ शैक्षिक भ्रमणमा आएका सबै विद्यार्थीको टिकटबाट प्राप्त हुने छुट रकम सोही विद्यालयलाई आर्थिक सहयोग स्वरुप उपलब्ध गराउने गरी अफर ल्याइएको कोइरालाले आर्थिक आवाजलाई जानकारी दिए । ‘यो अफरले धेरै विद्यालयहरु लाभान्वित हुने हामीले विश्वास लिएका छौं,’ उनले भने ।

अन्नपूर्ण केबुलकार पोखराको पहिलो केबुलकार सुविधा हो । जसले पोखरा क्षेत्रको पर्यटन व्यवसायमा विशेष टेवा पुर्याउँदै आइरहेको छ ।

lcci
You might also like

Comments are closed.