काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले १८ वर्ष पूरा भएका सम्पूर्ण नेपाली नागरिकलाई मतदाता नामावलीमा आफ्नो नाम दर्ता गर्न अपिल गरेको छ । युनियनले निर्वाचन आयोगले तोकेको मितिअनुसार २०८२ फागुन २९ गतेसम्म १८ वर्ष पूरा हुने सबैलाई आयोगको प्रक्रियामा सहभागी हुन अनुरोध गरेको हो ।
अनेरास्ववियुले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा राष्ट्र, राष्ट्रियता, जनजीविका, लोकतन्त्र र विधिको शासनका पक्षमा आफ्नो प्रतिबद्धता दोहोर्याउँदै लोकतान्त्रिक मूल्य र अभ्यास सुदृढ गर्न सबै युवा मतदाताको सक्रिय भूमिका अपरिहार्य भएको बताएको छ ।
संघले जारी गरेको सर्कुलरमा विगत एक महिनादेखि देशमा भएका राजनीतिक घटनाक्रमलाई उल्लेख गर्दै अ-संवैधानिक र अ-लोकतान्त्रिक व्यवहारले लोकतन्त्रका आधारभूत मूल्यमा चुनौती दिएको ठहर गर्दै त्यसको प्रतिवादमा संगठनका सम्पूर्ण शक्ति परिचालन गर्ने जनाएको छ ।
अनेरास्ववियुले १८ वर्ष पूरा भएका सबै नेपाली नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता गर्न र पहिले नै दर्ता भइसकेकाहरूलाई आफ्नो सम्बन्धित राजनीतिक निकायको दर्ता प्रक्रियामा सक्रिय सहभागिता जनाउन निर्देशन दिएको छ । संघले लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउन, राष्ट्रिय हितको रक्षा गर्न र जनसहभागिता अभिवृद्धि गर्न यो सर्कुलर जारी गरिएको जनाएको छ ।
Comments are closed.