‘नाडा अटो सो’ले ब्राण्डहरुलाई स्थापित गराउँछ

अटोमोबाइल व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले वर्षेनी नाडा अटो सो आयोजना गर्दै आइरहेको छ । यस पटकको नाडा अटो सो भदौ ११ देखि १६ गतेसम्म भृकुटीमण्डप काठमाडौंमा सञ्चालन हुुनेछ । यसैक्रममा नाडा अटो सोमा केन्द्रित रहेर नाडा अटो सो–२०२४का संयोजक अनुप कुमार बरालसँग आर्थिक आवाजले गरेको संक्षिप्त संवादः

‘नाडा अटो सो २०२४’को कसरी विशेष बन्दैछ ?

नाडा अटो सो नेपालमा आयोजना हुने मेला महोत्सव तथा प्रदर्शनी मध्ये सबै भन्दा ठूलो प्रदर्शनी हो । नाडाले वर्षेनी आयोजना गर्ने अटो सोलाई यस पटक अझै बढी आकर्षक बनाउन हामी लागि परेका छौं । बिगतमा भन्दा अटो सो अझ बृहत आकारमा हुँदैछ । ठाउँ पनि बढाएका छौं र स्टल पनि बढेका छन् । सहभागी ब्राण्ड पनि थपिएका छन् । दुई पाँग्रे सवारीका लागि छुट्टै पेभेलियन बनाएका छौं, यसले पनि छुट्टै आकर्षण थप्नेछ । चार पाँग्रे र अन्य स्टलहरुको ठाउँमा पनि बृद्धि गरेका छौं । हल र बाहिरको खुल्ला चौर पुरै स्टलहरुले कभर भएको छ ।

अटो सोमा सहभागी हुनका लागि सहभागी ब्राण्डहरुको आकर्षण कस्तो रह्यो ?

नाडा अटो सोमा भएको सहभागिताले हामी उत्साही भएका छौं । लोभलाग्दो आकर्षण देखिएको छ । आर्थिक मन्दीले व्यवसाय मर्कामा परेको अवस्थामा पनि व्यवसायीमाहरु उत्साही देखिएका छन् । विद्युतीय सवारी प्रयोगमा नेपाल अग्रणी बन्दै गइरहेको छ । नाडा अटो सोमा विद्युतीय सवारीको विशेष आकर्षण नै देखिदैछ । स्टलहरु मध्ये ७० प्रतिशत भन्दा बढी विद्युतीय सवारीहरुको बाहुल्यता नाडा अटो सोमा हुनेछ । स्टल आह्वान गरेको ४ दिनमा नै सम्पूर्ण स्टलहरु बुकिङ हुनुले पनि नाडा अटो सोको महत्व र आकर्षणलाई थप पुष्टि गर्छ ।

ब्राण्डहरुको प्रवर्द्धन र ब्राण्डलाई स्थापित गर्नका लागि अटो सोको प्रभावकारिता कस्तो छ ?

नाडा अटो सो भनेकै ब्राण्डलाई स्थापित गराउने र ब्राण्डलाई ग्राहक माझ चिनाउने मुख्य थलो हो । यहाँबाट बिक्री सुरु भएका ब्राण्डले बजारमा छुट्टै खालको पहिचान बनाउन सफल छन् । देशभरका अटो पारखी दर्शकहरु अटो सोमा आउने र आफ्नो लागि उपयुक्त गाडी छनोट गर्ने क्रम बिगतदेखि नै चल्दै आइरहेको छ । यस पटक नेपालमा धेरै राम्रा ब्राण्डहरु भित्रिएका छन् । ती ब्राण्डहरुलाई स्थापित गराउन पनि नाडा अटो सो सफल हुनेछ । अर्को आकर्षण यस पटक लाइट कमर्सियल भेइकलहरुको पनि विशेष प्रदर्शनी अटो सोमा नै हुँदैछ । ११ सिटर, १४ सिटर, १६ सिटरसम्मका लाइट कमर्सियल भेइकलको व्यवसाय विस्तारका लागि पनि अटो सो उपयुक्त थलो बन्दैछ ।

कोभिड पछिको आर्थिक मन्दीले अटो मोबाइल व्यवसायमा धेरै नकारात्मक प्रभाव परेको देख्न सकिन्छ । यो व्यवसायलाई चलायमान बनाउन अटो सोको योगदानलाई कसरी मुल्यांकन गर्नुहुन्छ ?

कोभिड पछि क्रमशः आर्थिक मन्दी बढ्दै गयो । आर्थिक मन्दीको प्रभाव अटोमोबाइल लगायत क्षेत्रमा प¥यो । अटोमोबाइल व्यवसाय मृत्युशैय्यामै पुगेको अवस्था हो । थला परेको व्यवसायलाई उत्साह ल्याउन गत वर्षको अटो सोको योगदान रह्यो । अब यस पटकको अटो सोबाट थप उत्साह प्रदान हुनेमा हामी विश्वस्त छौं । गत वर्षहरुमा बैंकमा पैसा पनि कम थियो । अहिले बैंकमा पैसा छ । बैंकहरु पनि सस्तो व्याजदरमा कर्जा बिस्तारका लागि आतुर छन् । यस पटक देशको आर्थिक गतिविधि थप बढाउन पनि अटो सोले योगदान गर्नेछ ।

अटो सोमा बैंकहरुको पनि सहभागिता छ ?

सात वटा बैंकहरुले स्टल राखेर अटो लोनका बारेमा ग्राहकहरुलाई जानकारी दिनेछन् । सस्तो ब्याजदरमा लोन प्रदान गर्ने गरी विशेष अफरहरु सार्वजनिक हुँदैछ । जसले गर्दा गाडी कम्पनीहरु र ग्राहक दुवै लाभान्वित हुने हामीले विश्वास लिएका छौं ।

अटो सोमा सहभागी कम्पनीहरुले कस्तो खालका अफर ल्याउँदैछन् ?

सम्पूर्ण अटोमोबाइल व्यवसायीहरुका लागि नाडा अटो सो साझा पर्व हो । नाडा अटो सोमा ग्राहकलाई आफ्नो ब्राण्डप्रति आकर्षित गर्न कम्पनीहरु अग्रसर बन्नेछन् । चाडपर्वको सुरुवात पनि हुँदैछ । नाडा अटो सोमा सार्वजनिक भएको अफर कतिपय कम्पनीहरुले चाडपर्वसम्मलाई निरन्तरता पनि दिन्छन् । समग्रमा कम्पनीहरु विशेष छुट र अफर सहित नाडा अटो सोमा सहभागी हुने हामीले जानकारी पाएका छौं । छुटको लाभ आम ग्राहकलाई हुनेछ ।

नयाँ ब्राण्ड कतिवटा सहभागी हुँदैछन् ?

नाडा अटो सोलाई लक्षित गरी धेरै कम्पनीहरुले नयाँ ब्राण्ड ल्याउँदैछन् । एक दर्जन भन्दा बढी नयाँ ब्राण्डहरु अटो सोमा देख्न सकिन्छ ।

अन्त्यमा के भन्नुहुन्छ ?

नाडा अटो सोको सम्पूर्ण तयारी पुरा भएको छ । अटो सोमा सहभागी भएर विश्व अटो बजारको नविनतम प्रविधिहरुको बारेमा बुझ्न तथा आफूलाई मन परेको सवारी साधनलाई नजिकबाट नियाल्नका लागि सम्पूर्ण महानुभावहरुलाई म अनुरोध गर्दछु । अटो सोमा स्वागत गर्न हामी आतुर छौं ।

You might also like

Comments are closed.