काठमाडौं । एसोसिएसन अफ प्रि-स्कुल एजुकेटर नेपाल (एपेन) ले देशमा सामाजिक सद्भाव, राष्ट्रिय एकता र बालबालिकाको मनोवैज्ञानिक सुरक्षा कायम राख्न सम्पूर्ण नागरिक तथा सरोकारवाला पक्षहरूसँग अपिल गरेको छ ।
सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका-कप्तानगञ्ज क्षेत्रमा हालै घटेको दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै एपेनले एक विज्ञप्ति जारी गरी मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
एपेनका अध्यक्ष कृष्ण कुमार बोहराद्वारा जारी प्रेस विज्ञप्तिमा हालको अशान्त परिस्थितिलाई यथाशीघ्र सामान्य बनाई शान्ति, सुरक्षा तथा सामाजिक सद्भाव पुनःस्थापित गर्न सम्बन्धित निकायहरूले आवश्यक पहल गरिरहेका छन् भन्नेमा विश्वस्त रहेको उल्लेख छ ।
‘नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक विशेषताले सम्पन्न राष्ट्र हो । इतिहासमा अनेकौँ चुनौतीपूर्ण कालखण्डको सामना गर्दै पनि नेपालीहरूले आपसी विश्वास, सहिष्णुता, मेलमिलाप र राष्ट्रिय एकताको बलमा अघि बढ्न सफल भएको गौरवशाली उदाहरण छ,’ विज्ञप्तिमा भनिएको छ, ‘विगतका अनुभवबाट शिक्षा ग्रहण गर्दै वर्तमान परिस्थितिमा पनि संयमता, धैर्यता, आपसी सम्मान र सहअस्तित्वको भावनालाई अझ सुदृढ बनाउनु सम्पूर्ण नेपाली नागरिकको साझा दायित्व हो ।’
विशेषगरी प्रारम्भिक बालविकास तथा विद्यालय शिक्षासँग प्रत्यक्ष जोडिएको संस्था भएको नाताले वर्तमान परिस्थितिले बालबालिकाको मानसिक, भावनात्मक र सामाजिक विकासमा पर्न सक्ने नकारात्मक प्रभावप्रति गम्भीर ध्यानकर्षण गराएको छ ।

समाजमा हुने हिंसा, द्वेष, उत्तेजना, भय र विभाजनका सन्देशहरूले बालबालिकाको कोमल मनमा दीर्घकालीन मनोसामाजिक असर पार्न सक्ने भएकाले अभिभावक, शिक्षक, सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई उत्तेजित गराउने खालका सामग्रीहरू पोस्ट नगर्न अनुरोध गरिएको छ ।
यसैगरी एपेनले सम्पूर्ण राजनीतिक दल, धार्मिक अगुवा, नागरिक समाज, शैक्षिक संस्था, सञ्चारमाध्यम तथा सरोकारवाला सबै पक्षहरूलाई सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र शान्तिपूर्ण सहअस्तित्वको वातावरण सुदृढ बनाउन साझा जिम्मेवारी निर्वाह गर्न आग्रह गरेको छ । बालबालिकालाई शान्ति, मानवता, परस्पर सम्मान, करुणा र सहिष्णुताको संस्कार प्रदान गर्नु आजको सबैभन्दा ठूलो राष्ट्रिय दायित्व भएको एपेनले जनाएको छ ।



Comments are closed.