एपीआई बैंकिङ प्लेटफर्म ‘र्‍यापिड’ सार्वजनिक

काठमाडौं । अब कर्पोरेट ग्राहकले खाताको ब्यालेन्स हेर्न, स्टेटमेन्ट लिन, फण्ड ट्रान्सफर गर्न, ईएमआई तिर्न वा तलब भुक्तानी गर्न फरक–फरक प्लेटफर्ममा जानुपर्ने झन्झट हट्दैछ । नेपाली प्रविधि कम्पनी गोक्यो ल्याब्सले यस्ता सबै सेवा एउटै स्थानबाट गर्न मिल्ने गरी ओपन बैंकिङ अवधारणामा आधारित ‘र्‍यापिड’ नामक एपीआई बैंकिङ प्लेटफर्म सार्वजनिक गरेको छ ।

यसअघि कर्पोरेट ग्राहकहरूले यी कार्यका लागि विभिन्न बैंक र सफ्टवेयर प्लेटफर्म प्रयोग गर्नुपर्थ्यो, जसले समय र स्रोत दुबै खर्चिलो थियो । तर अब बैंक तथा वित्तीय संस्थाले आफ्नो प्रणालीमा ‘र्‍यापिड’ एकीकृत गरेपछि प्रयोगकर्ताले आफ्नै सफ्टवेयर वा ईआरपी प्रणालीबाट एउटै प्लेटफर्म प्रयोग गरेर सबै बैंकिङ कार्य गर्न सक्नेछन् ।

सुरुआती चरणमा ग्लोबल आईएमई बैंकमा खाता रहेका टिग अकाउन्टिङ सफ्टवेयरका प्रयोगकर्ताले र्‍यापिडको सुविधा पाउनेछन् । प्रयोगकर्ताले ‘ऋयललभअत धष्तज ब्एक्ष् द्यबलपष्लन’ मा गएर आफ्नो बैंक खाता लिंक गर्न सक्नेछन् । र्‍यापिडले कर्पोरेट बैंकिङ सेवाको प्रवाहमा ठूलो रूपान्तरण ल्याउने गोक्यो ल्याब्सका बिजनेस प्रमुख अशितोष साहले बताए ।

नयाँ प्रणालीले वित्तीय कामकाजलाई डिजिटल रूपमा एकीकृत गर्दै व्यवसायहरूको समय, लागत र अपरेशनल झन्झट उल्लेखनीय रूपमा घटाउनेछ । ‘सुरूवातमा यो सुविधा ग्लोबल आईएमई बैंकमा लाइभ भएको छ । अब हामी छिट्टै अन्य प्रमुख बैंकहरू र विभिन्न सफ्टवेयर प्रदायकहरूसँग सहकार्य विस्तार गर्दैछौँ,’ साहले भने ।

अहिले ग्लोबल आईएमई बैंकबाट बैंक ब्यालेन्स र बैंक स्टेटमेन्ट सुविधा लाइभ भएको छ । बाँकी सुविधाहरू पनि विस्तारै उपलब्ध हुनेछन् । र्‍यापिडको विस्तारसँगै नेपालको एपीआई बैंकिङ इकोसिस्टमले एकीकृत, सहज र सुरक्षित डिजिटल लेनदेनको नयाँ मानक स्थापित गर्ने अपेक्षा गरिएको साहको भनाइ छ ।

ग्राहकले सेवा प्रयोग गर्नका लागि बैंकमा गएर एक पटक मात्र मोबाइल बैंकिङ जस्तै फाराम भर्नुपर्नेछ। त्यसपछि सबै कार्य अनलाइनबाटै गर्न सकिनेछ । र्‍यापिडले ग्राहकको अनुमति प्रक्रियालाई पनि डिजिटल बनाएको छ, जसले थप सहजता र पारदर्शिता थप्ने छ । सुरक्षाका दृष्टिले र्‍यापिडमा एण्ड–टु–एण्ड इन्क्रिप्सन, मल्टिलेयर भेरिफिकेशन र अत्याधुनिक सुरक्षा प्रोटोकल प्रयोग गरिएको कम्पनीले जनाएको छ । यसले सबै प्रकारका ट्रान्जेक्सनलाई सुरक्षित बनाउनेछ ।

यस बाहेक ‘र्‍यापिड’ले एपीआई बैंकिङ अवधारणालाई सुलभ बनाउँदै साना, मझौला तथा ठूला व्यवसायका लागि समान पहुँच प्रदान गर्ने लक्ष्य राखेको छ । र्‍यापिड प्लेटफर्मले बैंकिङ एज ए सर्भिस मोडललाई अघि बढाउने र बैंक, फिनटेक र डिजिटल सेवा प्रदायकबीच सहकार्यलाई नयाँ स्तरमा पुर्‍याउने अपेक्षा गरिएको छ ।

You might also like

Comments are closed.