बाढी प्रभावितलाई अपि पावरको मल्हम, तत्काल रु.३५ लाख सहयोग

काठमाडौं । बुधबार बिहान भोटेकोशी नदीमा आएको भीषण आकस्मिक बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि अपि पावरले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मार्फत आर्थिक सहयोग प्रदान गरेको छ ।

सरकारको कोषमा अपि पावर कम्पनीले ३५ लाख रुपैयाँ तत्काल सहयोग उपलब्ध गराएको हो । यो सहयोग रकमले तत्कालै प्रभावित नागरिकहरूको खोज र उद्धारमा सहयोग पुग्ने विश्वास कम्पनीकी अध्यक्ष सिर्जना खड्काले व्यक्त गरेकी छिन्। उनले खोज र उद्दार कार्यपछि प्रभावितहरुको दीर्घकालीन पुनर्स्थापनाका लागि समेत आवश्यक अनुसार थप सहयोगको लागि कम्पनी तत्पर रहेको बताएकी छिन्।

अपि पावरले बाढीका कारण विभिन्न जलविद्युत आयोजना र अन्य संरचनामा भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । अपि पावरले ज्यान गुमाउने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।

अपि पावरले विभिन्न जलविद्युत आयोजनाका कर्मचारीसहित सम्पूर्ण बेपत्ता नागरिकहरूको तत्काल खोजी र उद्धारको लागि सम्बन्धित निकायसँग जोडदार आग्रह गरेको छ । अपि पावरले यस विषम् परिस्थितिमा थप जनधनको क्षति हुन नदिन अधिकतम् सावधानी अपनाउँदै आ–आफ्नो क्षेत्रबाट खोज, उद्धार र राहतमा सक्दो सहयोग गर्न पनि सबैमा आग्रह गरेको छ ।

अपि पावर कम्पनीले हाल ५६ मेगावाट क्षमताका जलविद्युत आयोजना र ६ मेगावाट क्षमताका सौर्य आयोजना निर्माण सम्पन्न गरि नियमित विद्युत उत्पादन गरिरहेको छ । साथै एक दर्जन वटा सहायक कम्पनीहरु मार्फत विभिन्न जलविद्युत , कृषि, पर्यटन र पूर्वाधार क्षेत्रमा पनि काम गरिरहेको छ।

 

You might also like

Comments are closed.