काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) द्वारा आयोजित एसिया प्यासिफिक इन्टरनेट गभर्नेन्स एकेडेमी (एपिगा) नेपाल २०२५सम्पन्न भएको छ । पुष १२ र १३ गते काठमाडौंमा भएको यस क्षमता विकास कार्यशालाले स्नातक, स्नातकोत्तर विद्यार्थी तथा युवा पेशेवरहरूलाई इन्टरनेट गभर्नेन्स, ICANN नीति र बहुपक्षीय मोडेलबारे व्यापक जानकारी प्रदान गरेको छ ।
आईक्यान (ICANN) र कोरिया इन्टरनेट एण्ड सेक्युरिटी एजेन्सी (KISA) द्वारा सञ्चालित विश्वव्यापी एपिगा कार्यक्रमको नेपालमा दोस्रो संस्करणका रूपमा यो कार्यशाला आयोजना गरिएको हो । कार्यक्रममा सेमिनार, राउन्ड टेबल, सिमुलेसन गेम र ICANN मोडेल कन्फरेन्स जस्ता अन्तरक्रियात्मक सत्रहरू सञ्चालन गरिएको थियो ।
उद्घाटन सत्रमा क्यान महासंघका वरिष्ठ उपाध्यक्ष चिरन्जिवी अधिकारी, उपाध्यक्ष तथा आईएसप्यानका प्रमुख कार्यकारी अधिकृत सुभाष खड्का, महासचिव चन्द्र विलास भुर्तेल, कोषाध्यक्ष विक्रम सिंह र ICANN प्रतिनिधि यश अग्रवाल उपस्थित थिए । ICANN का प्रतिनिधि यश अग्रवालले ICANN को भूमिका, संगठनात्मक संरचना र नीतिनिर्माण प्रक्रियाबारे विस्तृत जानकारी दिएका थिए ।
कार्यक्रम टिम लिड बिबेक सिलवाल र कार्यक्रम संयोजक उदिप बरालको नेतृत्वमा सम्पन्न भएको थियो । आयोजक सदस्यहरूमा प्रमोद ढुंगाना, स्वस्ती बास्तोला, अनुपम गौतम, ओम प्रकाश शर्मा, दिक्ष्या राउत, सञ्जिना क्षेत्री र सन्दीप कोइराला रहेका थिए ।
कार्यक्रमका सत्रहरूमा सहभागीहरूले क्षेत्रीय (APrIGF) र विश्वव्यापी (IGF) इन्टरनेट नीतिनिर्माण प्रक्रियाबारे व्यावहारिक ज्ञान प्राप्त गरेका थिए। पावर टक सत्रमा यूएन IGF सचिवालयकी अन्जा गेन्गो, ICANN एप्याकका यश अग्रवाल, APRALO अध्यक्ष अमृता चौधरी र सफ्टवेरिका कलेज अफ आईटीका प्रमोद पौडेलले प्रस्तुति दिएका थिए । साथै, एसिया प्यासिफिक नेटवर्क इन्फर्मेसन सेन्टर (APNIC) परिचयबारे बिक्रम श्रेष्ठले जानकारी दिएका थिए।
कार्यक्रमले सहभागीहरूलाई इन्टरनेट गभर्नेन्स, बहुपक्षीय मोडेल, DNS सञ्चालन, IGF प्रक्रिया, युवा सहभागिता, नेतृत्व, अन्तर्राष्ट्रिय अवसर र नीति बहसमा व्यावहारिक ज्ञान हासिल गर्ने अवसर प्रदान गरेको थियो । एपिगा नेपाल २०२५ ले युवापेशेवरहरूको सञ्जाल विस्तार गर्दै खुला, समावेशी र दिगो इन्टरनेटका लागि योगदान गर्न सक्षम बनाएको छ ।
कार्यक्रमका लागि इन्टरनेट पार्टनर वर्ल्डलिंक कम्युनिकेशन्स, बैंकिङ्ग पार्टनर ग्लोबल आइएमई बैंक, र सहयोगीहरूमा APNIC, NPIX, ISPAN, सफ्टवेरिका कलेज अफ आईटी र ई–कमर्स, डाइनामिक टेक्नोसफ्ट, एडुटेक इन्टरनेसनल प्रा.लि. (होरिएन) र ब्रडवे इन्फोसिस रहेका थिए ।




Comments are closed.