काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेड ले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने म्याद थप गरेको छ । कम्पनीले फागुन ११ गतेदेखि खुला गरेको आईपीओमा अब चैत १० गतेसम्म आवेदन दिन सकिने जनाएको छ ।
कम्पनीले जारी पूँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत बराबरको १४ करोड १० लाख रुपैयाँ मूल्यका १४ लाख १० हजार कित्ता साधारण शेयर निष्कासन गर्ने अनुमति पाएको छ । तीमध्ये ४ करोड ७० लाख रुपैयाँ बराबरका प्रतिशेयर १०० रुपैयाँ दरका ४ लाख ७० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको हो ।
कम्पनीका अनुसार स्थानीय बासिन्दाका लागि निष्कासन गरिएको शेयरमध्ये ५० प्रतिशत अर्थात २ लाख ३५ हजार कित्ता उच्च प्रभावित क्षेत्रका बासिन्दालाई वितरण गरिनेछ । यस अन्तर्गत खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ र ८ का स्थानीय बासिन्दा पर्नेछन् ।
त्यस्तै ३० प्रतिशत अर्थात १ लाख ४१ हजार कित्ता शेयर मध्यम प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको छ । यस अन्तर्गत लिखुपिके गाउँपालिका वडा नम्बर २ र उमाकुण्ड गाउँपालिका वडा नम्बर ३ का बासिन्दा पर्नेछन् ।
बाँकी २० प्रतिशत अर्थात ९४ हजार कित्ता शेयर न्यून प्रभावित क्षेत्रका बासिन्दामा बाँडफाँड गरिनेछ । यस अन्तर्गत उमाकुण्ड गाउँपालिका वडा नम्बर २ तथा गोकुलगंगा गाउँपालिका वडा नम्बर १ का स्थानीय बासिन्दा समेटिनेछन् ।
आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ४७ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ । कम्पनीको रेटिङमा केयर रेटिङ्ग नेपाल ले ‘केयरएनपी डबल बी माइनस’ इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले कम्पनीको आयोजना कार्यालय ओखलढुङ्गा, लक्ष्मी सनराइज बैंक का किन्जा (सोलुखुम्बु), शिवालय र प्रिति (रामेछाप) शाखा, नेपाल इन्भेष्टमेन्ट बैंकको खिजिदेम्बा (ओखलढुङ्गा) शाखा तथा सिटिजन्स बैंक इन्टरनेसनल को लिखुपिके (सोलुखुम्बु) शाखाबाट आवेदन दिन सक्नेछन् ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाले शेयर खरिद आवेदन फाराम प्राप्त गर्दा दरखास्त फाराम बापत २ रुपैयाँ शुल्क तिर्नुपर्ने कम्पनीले जनाएको छ ।






Comments are closed.