काठमाडौं । हिम स्टार उर्जा कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन तथा बिक्री खुला गरेको छ ।
कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गरी बाँडफाँट गरिसकेको थियो । अब भने सर्वसाधारण लगानीकर्ताका लागि कुल ७ लाख ७३ हजार ९७५ कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीले आफ्नो ३७ करोड ३० लाख रुपैयाँको जारी पूँजीको ३० प्रतिशत अर्थात् ११ करोड १९ लाख रुपैयाँ बराबरको ११ लाख १९ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । यसमध्ये १ लाख ८६ हजार ५०० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि र ९३ हजार २५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि पहिले नै बाँडफाँट भइसकेको छ ।
अब १८ हजार ६५० कित्ता कर्मचारीका लागि र ४६ हजार ६२५ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएपछि बाँकी रहेको शेयर सर्वसाधारणलाई बिक्री खुला गरिएको हो।
सो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आवेदन अवधि छिटोमा असार २७ गते बन्द हुनेछ भने माग भन्दा कम आवेदन परेमा साउन ६ गतेसम्म खुला रहनेछ ।
आईपीओको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ डबल बी माइनस’ प्रदान गरेको छ, जसले औसत जोखिम संकेत गर्दछ ।
कम्पनीले सञ्चालन गरेको ५ मेगावाट क्षमताको बुकु कापटी खोला जलविद्युत् आयोजनाको कुल लागत १ अर्ब २३ करोड ८५ लाख रुपैयाँ रहेको छ । प्रतिमेगावाट लागत २४ करोड ७७ लाख रुपैयाँ परेको छ। आयोजनाको विद्युत अनुमतिपत्रमा अझै २७.७ वर्ष बाँकी छ ।
आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७.१४ वर्ष र छुटमा लगानी फिर्ता हुने अवधि ११.७५ वर्ष रहेको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखाबाट सि आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।
Comments are closed.