उपभोक्ता, बिक्रेता, उत्पादकलाई मेलामा जोड्नेछौंः महासचिव पोखरेल

अर्जुन पोखरेल
महासचिवः पोखरा उद्योग वाणिज्य संघ
प्रचार–प्रसार संयोजकः समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला

निजी क्षेत्रको छाता संस्था पोखरा उद्योग वाणिज्य संघको आयोजनामा यही पुस १८ देखि २८ गतेसम्म पोखरामा ‘समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला’ हुँदैछ । मेला मिति नजिकिएसँगै तयारी तिब्र बनाइएको छ । यसैक्रममा मेलाको तयारी, विशेषता लगायत विविध विषयमा केन्द्रित रहेर संघका महासचिव अर्जुन पोखरेलसँग आर्थिक आवाजले गरेको कुराकानीः

मेलाको तयारी कस्तो छ ?
पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारीमा हामी जुटिरहेका छौं । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा बिगतका वर्षहरुमा जस्तै यही पुस १८ देखि २८ गतेसम्म मेला हुँदैछ । मूल आयोजक समितिसहित सम्पूर्ण उपसमितिबाट मेलाको तयारी भइरहेको छ । मेलाको प्रचार–प्रसारलाई हामीले व्यवस्थित बनाएका छौं । प्रचार–प्रसार तिब्र गतिमा भइरहेको छ । राष्ट्रिय तथा स्थानीय सञ्चार माध्यम, सामाजिक सञ्जाल, अनलाइन, क्रस व्यानर, होडिङ बोर्ड, रोडसाइड ब्यानरको सहायताबाट प्रचार–प्रसार भइरहेको छ । पोखरा वरपरका गाउँपालिकाहरुमा पनि प्रचार–प्रसार गरेका छौं । वरपरका उत्पादनलाई मेलामा ल्याएर प्रदर्शनीमा राख्न पनि पहल भइरहेको छ । नेपाल उद्योग वाणिज्य महासंघसँगको सहकार्यमा काठमाडौंमा समेत पत्रकार सम्मेलन गरिसकेका छौं । पोखरामा पनि पत्रकार सम्मेलन गरिसकेका छौं ।

मेला आयोजना गर्नुको मुख्य उद्देश्य के हो ?
‘लगानीको सम्बद्र्धनः उद्योग व्यवसायको प्रवद्र्धन’ उद्घोषसहित मेला गर्न लागिएको हो । नेपाल भ्रमण वर्ष २०२० लाई सघाउन तथा पोखरा लगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य उत्पादन, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादनलाई प्रवद्र्धन तथा बजारीकरणमा सघाउन मेला आयोजना गरिएको हो । गण्डकी प्रदेशको व्यवसाय बिस्तारको सम्भावनाको खोजीे तथा यो प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्ने उद्देश्यमा समेत मmेला समर्पित छ ।

jutta mela

मेलाका आकर्षणहरु के–के रहन्छन् ?

औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषिमेला, पुष्पमेला, अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरुको गतिविधिहरुको प्रदर्शनी मेलाका आकर्षण हुनेछन् । दैनिक उपभोग्य वस्तु, घरायसी सरसामान, लत्ताकपडा, श्रृंगारका सामानहरुको बिक्री वितरण पनि मेलाको आकर्षण बन्नेछ । मेलाको थप आकर्षणतर्फ लोकदोहोरी प्रतियोगिता, पञ्चेबाजा प्रतियोगिता, नेपालका ख्यातिप्राप्त व्याण्डहरुको सांगीतिक कार्यक्रम, खुल्ला एकल नृत्य प्रतियोगिता र प्रहशनहरु समावेश गरिएका छन् ।

मेलामा अन्य के–कस्ता गतिविधि समावेश हुन्छन् ?

उत्पादक र उपभोक्ताहरुलाई एउटै स्थानमा जमघट गराउनेछौं । उद्योगको छुट्टै पेभिलियन राखिनेछ । मेड नेपालको छुट्टै पेभिलियन हुन्छ । मेड इन नेपाल पेभेलियनको व्यवस्थापन युवा उद्यमी मञ्च पोखराले गर्नेछ । छुट्टै पेभेलियनमा अटो मेला हुनेछ । पोखरा उद्योग वाणिज्य संघको मेलामा गुणस्तरीय कार्यक्रमहरु समावेश हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । मेलामा उपस्थित हुने दर्शकले त्यहाँबाट उद्यम सिक्नुपर्छ भन्ने हाम्रो चाहना पनि हो । बिटुबी कार्यक्रम पनि समावेश छ । उपभोक्ता, बिक्रेता, उत्पादकलाई मेलामा जोड्नेछौं । उहाँहरुबीच अन्तरक्रिया र उद्यमशीलता सम्बन्धी वहस कार्यक्रम पनि हुनेछन् ?

पर्यटनलाई मेलामा कसरी जोड्नुभएकोे छ ?

भ्रमण वर्ष २०२० को शुभारम्भसँगै मेला सुरु हुनेछ । मेलाले पर्यटन प्रवद्र्धनमा पनि जोड दिनेछ । होम स्टे प्रवद्र्धनलाई हामीले प्राथमिकतामा राखेका छौं । पोखरा पर्यटन परिषदसँग सहकार्य पनि गर्दैछौं । ग्रामीण पर्यटन प्रवद्र्धन मञ्चले पनि सहकार्य गर्नेछ ।

आम्दानी र खर्चको अनुमान कस्तो छ ?

मेलाबाट १ करोड रुपैयाँ अनुमानित आम्दानी हुने अपेक्षा गरिएको छ । ७० लाख रुपैयाँ खर्च कटाउँदा ३० लाख रुपैयाँ बचत हुने अनुमान गरेका छौं । मेलाबाट बचत रकम उद्यमशीलता प्रवद्र्धन गर्न तथा व्यवसायीहरुको क्षमता अभिवृद्धिको लागि खर्च गरिनेछ ।

मेला सफल बनाउन प्रायोजनको अवस्था कस्तो छ ?

मेलालाई समृद्धि स्टिल्सले मुख्य प्रायोजन गरेको छ । मेलाको सहप्रायोजकमा हिमशिखर कृषि सहकारी संस्था लिमिटेडको उपकार ब्राण्ड जोडिएको छ । मेलासँग नेपाल टेलिकम, गरिमा विकास बैंक, एनएमबी बैंक, अर्घाखाँची सिमेण्ट, गोल्छा अर्गनाइजेसन, एनआइसी एसिया बैंक, बरुण बेभरेज, हाइलाइफ फुड प्रोडक्ट, विजय डिष्टिलरी, सगरमाथा इन्स्योरेन्स, बंगलामुखी एम्युजमेण्ट प्रालि, अजोड इन्स्योरेन्सले पनि सहकार्य गरेका छन् । अन्य प्रायोजकहरु जोडिने क्रम पनि छ ।

अन्त्यमा के भन्नुहुन्छ ?

यस पटक मेलामा हामीले केही फरक पन प्रस्तुत गर्नेछौं । मेलामा उपस्थित भइदिन म सम्पूर्णमा आग्रह गर्दछु । बिगतका वर्षहरुमा भएका कमिकमजोरीलाई समिक्षा गर्दै यस पटक प्रचार–प्रसार पनि व्यवस्थित गरिएको छ । बस्तुगत संघसंस्था, टोल संघ संस्था, आमा समूह लगायत धेरैसँग सहकार्य पनि हुनेछ ।

You might also like

Comments are closed.