अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष तिवारी ‘प्रभावशाली युवा लिडर अवार्ड’ बाट सम्मानित

काठमाडौं । स्याङ्जा जिल्ला अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष तथा स्याङ्जा कांग्रेस प्रदेश क्षेत्र सभापति प्रकाश तिवारी ‘प्रभावशाली युवा लिडर अवार्ड’बाट सम्मानित भएका छन् । ४० वर्षभन्दा कम उमेरका प्रभावशाली राजनीतिज्ञको रूपमा तिवारीलाई राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गरेका हुन् ।

अनलाइन खबरले विभिन्न क्षेत्रमा प्रभावशाली युवालाई सम्मान गर्ने उद्देश्यले आयोजना गर्दै आएको कार्यक्रममा यसअघिको पहिलो संस्करणमा काठमाडौंका मेयर बालेन शाहले यो अवार्ड पाएका थिए । यसपटक देशभरबाट विभिन्न चरणमा छनोट गरिएका ४० विधामध्ये राजनीतिक क्षेत्रको अवार्ड तिवारीलाई प्रदान गरिएको हो ।

३२ वर्षको उमेरमै पालिका अध्यक्ष बनेका तिवारी नेपाली कांग्रेसबाट निर्वाचित सबैभन्दा कम उमेरका पालिका अध्यक्ष हुन् । यसअघि कार्यसम्पादन मूल्यांकनका आधारमा उनी ‘उत्कृष्ट अध्यक्ष’को अवार्ड पनि पाइसकेका छन् ।

स्थानीय सेवा प्रवाह, विकास निर्माण, शिक्षा, स्वास्थ्यमा उल्लेखनीय सुधार गरेका तिवारीले धार्मिक पर्यटन प्रवर्द्धनमा पनि योगदान दिएका छन् । उनले नेपालमै पहिलो पटक नवग्रह मन्दिर निर्माण गरी अर्जुनचौपारीलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गरेका छन् । व्यवस्थापनमा एमबीए गरेका तिवारी वित्त क्षेत्रका सफल लगानीकर्ता र उद्यमीको रूपमा पनि परिचित छन् ।

अवार्ड ग्रहण गर्दै उनले देश र जनताको अवस्था परिवर्तनका लागि अझ सक्रिय भएर लाग्ने प्रतिबद्धता जनाए । ‘‘हाम्रो देशको मुल दक्षता र प्रतिस्पर्धात्मक अग्रता पहिचान गरी व्यवस्था मात्र होइन, जनताको अवस्था परिवर्तन गर्न निर्णायक क्रान्ति आवश्यक छ,’’ तिवारीले भने ।

अनलाइन खबरका अध्यक्ष तथा प्रबन्ध निर्देशक धर्मराज भुसालका अनुसार तिवारीले आफ्नो क्षेत्रमा पु¥याएको योगदानले ‘नेपालमा केही हुनेवाला छैन’ भन्ने धारणालाई चुनौती दिएको छ र यो अवार्ड त्यसको प्रतिविम्ब हो ।

You might also like

Comments are closed.