काठमाडौं । नेपाल प्रहरीले बैंकिङ कसूर मुद्दाका फरार एकजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले २०७७ मङ्सिर ८ को उच्च अदालत पाटनको फैसलाअनुसार १५ दिन कैद सजाय र रु २० लाख जरिवाना ठहर भएपछि फरार रहेका ललितपुरको नखिपोट बस्ने ४१ वर्षीय पूर्ण लामालाई आइतबार ललितपुरको जावलाखेलबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक गङ्गा पन्तले दुर्गामान मोक्तानलाई आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानीजानी झुक्यानमा पारेर सानीमा बैंक लिमिटेडको चेक दिएर बैंकिङ कसूरजन्य अपराध गरेकाले पक्राउ गरिएको जानकारी दिए ।
उच्च अदालतले पक्राउ लामालाई बैंकिङ कसूर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसूरमा दफा १५ (१) बमोजिम उक्त फैसला गरेको थियो । पक्राउ लामालाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरेको प्रवक्ता पन्तले बताए ।
Comments are closed.