काठमाडौं । बैंकिङ कसूर मुद्दामा कैद र जरिवाना तोकिएर फरार हुँदै आएका एक व्यक्तिलाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।
धादिङका प्रकाश न्यौपानेको जाहेरीले वादी नेपाल सरकार रहेको उक्त मुद्दाका प्रतिवादी ध्रुवप्रसाद कँडेललाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) ले जनाएको छ ।
उच्च अदालत पाटनको विसं २०७७ मङ्सिर १९ को फैसलाले धादिङको बेनीघाट रोलाङ गाउँपालिका–५ बस्ने ४५वर्षीय कँडेललाई सात दिन कैद र रू १२ लाख ५० हजार जरिवाना हुने ठहर गरेको थियो ।
उक्त सजाय बेरुजू रही फरार रहेकामा आइतबारै काठमाडौँको नक्सालबाट उनलाइ पक्राउ गरी फैसला कार्यान्वयनको लागि आँइतबार नै सम्मानित काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको सिआइवीका उपनिर्देशक गङ्गा पन्तले जानकारी दिइन् ।
प्रतिवादी कँडेलले विसं २०७५ मा आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी झुक्यानमा पारी राष्ट्रिय वाणिज्य बैंक लिमिटेड शाखा कार्यालय गजुरीमा रहेको खाताबाट भुक्तान हुने गरी रु १२ लाख को चेक काटी पीडित न्यौपानेलाई दिएका िथए । अदालतले बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी बैंकिङ कसूर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसूरमा दफा १५(१) बमोजिम उक्त सजाय हुने फैसला गरेको थियो ।




Comments are closed.