टु ह्विलर्स पार्टसमा धेरै रेन्ज हामीसँग छ : अग्रवाल

अरुण अग्रवाल, प्रवन्ध निर्देशक, श्री अम्बा ग्रुप प्रालि

व्यवसायी अरुण अग्रवाल झण्डै ३ दशकदेखि स्पेयर्स पार्टसको व्यवसायमा सक्रिय छन् । विशेष गरी टु ह्विलर्स सेगमेन्टमा उनको सक्रियता छ । आफू जुन व्यवसायमा लागिन्छ त्यो व्यवसायमा इमान्दार भएर काम गर्नुपर्छ भन्ने मान्यता राख्छन् अग्रवाल । नेपाली बजारमा टु ह्विलर्स सेगमेन्टको स्पेयर्स पार्टस बिक्री वितरणमा उनको कम्पनी श्री अम्बा ग्रुप प्रालिलाई अग्रणी मानिन्छ । यसैक्रममा अग्रवालसँग व्यावसायिक विषयमा केन्द्रित रहेर आर्थिक आवाजले गरेको कुराकानीः

बिगत कति वर्षदेखि स्पेयर्स पार्टसको व्यवसायमा सक्रिय हुनुहुन्छ ?

हामीले सन् २००३ देखि अटोमोबाइल क्षेत्रमा काठमाडौं केन्द्रित भएर काम गरिरहेका छौं । यसअघि हामीले इटहरिबाट काम गरिरहेका थियौं । काठमाडौंबाट बिजनेश शुरु गर्दा हामीले धेरै समस्याको सामना गर्यौं । त्यो बेला प्राय २ नम्वरीबाट सामान आउने गर्दथ्यो । हामीले एक नम्बरको सामान फेयर तरिकाले ल्याउथ्यौं । त्यो समय काम गर्न असहज परिस्थितिको सृजना गराइन्थ्यो । एक वर्ष म पेन्डुलम जस्तै भएको थिएँ । शुरुवतामा धेरै समस्या भयो र संघर्ष गरियो । बिस्तारै बजारमा एक नम्बरबाट सामान आउन थाल्यो र हामीलाई पनि केही सहज भयो । हाम्रो बिजनेश पनि बढ्न थाल्यो । काम बढाउँदै गयौं । सामान ल्याउने कम्पनीहरु पनि थप्दै गयौं ।

नेपाली बजारमा कुन ब्राण्डका कस्ता सामान बिक्री वितरण गर्दै आउनुभएको छ ?

हामीले गुणस्तरीय प्रडक्टलाई मात्रै नेपाली बजारमा बिक्री विरतण गर्दै आइरहेका छौं । अहिले हामीले करिब २३ कम्पनीको काम गरिरहेका छौं । भारतको ब्राण्डेड एलजी बालाकृष्ण कम्पनीको रोलन, इन्डोरेन्स, युनोमिन्डा, स्पार्क मिन्डा, एआरबि बेरिङ, रेन्डर हेडलाइट लगायतका कम्पनीहरुले ओरिजिनल सामान उत्पादन गर्दै आइरहेका छन् । यसका प्रडक्टका बाइक, स्कुटरहरुमा पनि फिटिङ भएर आउँछन् । यीनै सामानहरु अम्बा ग्रुपले नेपालमा ल्याइरहेको छ । यसका साथै नयाँ कम्पनी इन्डियन निप्पोन कम्पनी इलोक्ट्रोनिक्स पार्टसहरु पनि हालै बजारमा ल्याएका छौं । यी पार्टसहरु पनि मोटरसाइकलमा फिटिङ भएर आउने प्रडक्ट हुन् । साथै एसएजी ट्युव, जोडेक्स कम्पनीका स्पेयर्स पार्टस र साइ ग्रुपका बढी पार्टस (फाइबर) र हेल्मेटका चार वटा ब्राण्डहरु हेड्ज, रिपले, एरो स्टार, एएनजी बिक्री वितरण गर्दै आइरहेका छौं । आइएसआई ट्रेडमार्क भएका साथै इन्टरनेशनल डट सर्टिफिकेट भएका हेल्मेटसमेत बजारमा उपलब्ध गराउन हामी सफल छौं । बजाज, यामाहा, टिभिएस, सुजुकी, महिन्द्रा, होण्डा, रोयल इन्फिल्ड, भेष्पा लगायत ब्राण्डका सय मोडलका सामानहरु हामीले उपलब्ध गराउन सफल छौं ।

श्री अम्बा ग्रुपको डिलर नेटवर्क कस्तो छ ?

देशभर हाम्रो ३ सय भन्दा धेरै डिलर नेटवर्क छन् । कम्पनीको क्वालिटी तथा राम्रो सामानका कारण पनि हामी सफल भएका हौं । सर्भिस, प्राइस, एकाउन्ट लगायत सबै कुरा क्लियर हुनुपर्छ । पारदर्शी तरिकाले काम गर्नुपर्छ भन्ने हाम्रो मान्यता छ । हाम्रो अनलाइन विलिङ सिस्टम छ । एक रुपैयाँ पनि तलमाथि हुँदैन । हामीसँग जोडिएर काम गर्ने व्यवसायी साथीहरु खुसी हुनुहुन्छ । उहाँहरुसँग निरन्तर सहकार्य गरिरहेका छौं ।

सरकारी तवरबाट व्यवसायीलाई उत्साही बनाउने गरी के कस्ता सहयोग भइरहेका छन् ?

jutta mela

सरकारबाट हामीले खासै सहयोग पाएका छैनौं । हामीले भन्सारमा धेरै दुःख पाएका छौं । भन्सारले विभिन्न बाहनामा दुःख दिन्छ । कुनैपनि सामानको मूल्य सरकारले आफ्नो तरिकाले राख्छ तर त्यो तरिकाले राखेर कहिल्यै पनि सम्भव छैन । आज कुनै मोटरसाइकलको मूल्य ५ लाख ५० हजार छ र अर्कोको कम छ भनेपनि त्यसको ब्रेक सु को मूल्य बराबर नै पर्छ । सरकारले कम्पनीबाट रेटलिस्ट मगाएर अपडेट गर्नुपर्छ । सोही अनुसार मूल्याङकन गर्नुपर्छ । प्राइस ट्याग राख्नुपर्छ तर यो पनि कार्यान्वयन भएको पाइदैन । सरकारी निकायबाट अनुगमन भनेर आउने गरिन्छ तर खासै प्रभावकारी भएको पाइदैन । सरकारले प्रभावकारी ढंगले अनुगमन गर्नुपर्छ र नियम नमान्नेलाई कानुन अनुसार कारवाही पनि गर्नुपर्छ । एउटै सामानको मूल्यमा पनि एक रुपता छैन । यसले पनि बजारमा असर परिरहेको छ । स्टिकरको सिस्टम ठिक छ । सिस्टममा आउन नचाहनेले यसको बिरोध गरेको पनि पाइन्छ । बोर्डर पनि व्यवस्थित छैन । म सरकारलाई के भन्न चाहन्छु भने बोर्डरलाई व्यवस्थित गरियोस् र अरु केही नभएपनि बोर्डरमा आउने जाने व्यक्तिको एउटा इन्ट्री सिस्टम राखियोस् । बोर्डर टाइट गर्ने हो भने मात्र पनि राजस्व ४० प्रतिशतले बढ्छ । सरकारले व्यवसायीलाई टर्चर दिने हिसाबले काम गर्ने होइन सहजीकरण गर्नुपर्छ । बैंकको ब्याजदरले पनि व्यवसायी समस्यामा छन् । ब्याजदर घटाउन आवश्यक छ ।

कोरोना महामारी र त्यसपछि आएको आर्थिक मन्दीको असर कस्तो छ ?

कोरोना महामारीले असर परिरहेको थियो भने अहिलेको आर्थिक मन्दीले पनि व्यवसायमा धेरै असर पारेको छ । अब व्यवसायका लागि केही सहज परिस्थिति बन्छ भन्ने आशामा हामी छौं । मन्दीले प्रोफिट अफ मार्जिन कम गर्यो । कम्पनीको टार्गेट सबैलाई छ । सामान सबैले बेच्नु नै पर्छ । एउटा डिलरले राम्रो काम गर्न सकेन भने कम्पनीले अर्को डिलर खोजिहाल्छ । हामी धेरैतिरबाट दबाबमा हुन्छौं । विभिन्न व्यापारीको टर्चर पनि हामीलाई हुन्छ । अस्वस्थ प्रतिश्पर्धा पनि बजारमा बढिरहेको छ । यस्ता विभिन्न कारणले व्यवसायमा समस्या परिनैरहन्छ ।

बाइक चढ्ने उमेरका युवाहरु विदेशिने क्रम बढ्दो छ । व्यवसायमा यसको प्रभाव कस्तो छ ?

देशमा खर्च गर्ने भनेको युवा पुस्ताले नै हो । अहिले युवा पुस्ता सबै बाहिर जाने क्रम बढिरहेको छ । यसको प्रत्यक्ष प्रभाव नेपालमा परिरहेको छ । नेपाली खर्च नगर्ने भने होइनन् । अहिले मन्दीको समयमा पनि गाडी बुकिङ भइरहेका छन् । कम्पनीले गाडी पुर्याउन नसकेको अवस्था छ । नेपालमा पैसाको कमी होइन पोलिसीको कमी हो । नीति नियम राम्रो हुने हो र सिस्टममा देश चल्ने हो भने कामका लागि विदेश जाने क्रम पनि घट्छ । नेपालमा नै प्रशस्त अवसर र सम्भावना नभएका होइनन् । सम्भावनालाई पहिचान गर्न आवश्यक छ । राज्यले युवालाई देशमै रोजगारीको अवसर सिर्जना गर्नुपर्छ ।

अन्त्यमा के भन्नुहुन्छ ?

भारत चीन लगायत संसारका धेरै देशमा टोल ट्याक्स छ, तर नेपालमा अझैसम्म पनि यो व्यवस्था छैन । यसको व्यवस्था गर्न सकेमा राज्यलाई धेरै फाइदा हुन्छ र जनता पनि लाभान्वित हुन सक्छन् । किनभने टोल ट्याक्सले गर्दा रोडको म्यान्टेनेन्स राम्रो हुन्छ । सडकको सम्पूर्ण जिम्मेवारी केही वर्षका लागि ठेकेदारको हुन्छ । यसबाट जनतालाई यात्रामा समयको बचत हुन्छ । टायर लामो समयसम्म टिक्छ, पार्टसहरुको टुटफुट हुने समस्या कम हुन्छ र इन्धनको प्रयोग घट्छ । जाम घट्नुका साथै दुर्घटना पनि कम हुन्छ । यो ठाउँमा लाग्ने सरकारको रकम अन्य ठाउँमा प्रयोग गर्न सकिन्छ ।

You might also like

Comments are closed.