काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्दै उल्लेखनीय नाफा वृद्धि गरेको छ। कम्पनीले उक्त अवधिमा २० करोड ९२ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा २४८ प्रतिशतले वृद्धि हो ।
गत वर्ष सोही अवधिमा कम्पनीको नाफा ६ करोड ८९ हजार रुपैयाँ मात्र थियो। समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ६७ प्रतिशतले बढेर ७३ करोड ८८ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा २५५ प्रतिशतले उछालिएर ३० करोड १६ लाख रुपैयाँ भएको छ ।
जोखिम व्यवस्थापनका लागि छुट्याइएको इम्पेयरमेन्ट खर्च ५ करोड ३१ लाखबाट बढेर १० करोड नाघे पनि नाफा बढ्न सफल भएको कम्पनीले जनाएको छ ।
आशा लघुवित्तको वितरणयोग्य मुनाफा १६ करोड ३६ लाख रुपैयाँ पुगेको छ भने वितरणयोग्य प्रति शेयर आम्दानी २२.३२ रुपैयाँ रहेको छ, जसले कम्पनीको लाभांश क्षमता पनि २२.३२ प्रतिशत देखाउँछ ।
कम्पनीको चुक्ता पुँजी ७३ करोड ३० लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष कम्पनीले १४.२५ प्रतिशत बोनस शेयर वितरण गरिसकेको थियो । यस वर्ष प्रति शेयर आम्दानी (EPS) ९.३७ रुपैयाँबाट बढेर २८.५५ रुपैयाँ पुगेको छ । कम्पनीको प्रति शेयर नेटवर्थ १७२.९० रुपैयाँ रहेको छ भने खराब कर्जा अनुपात ४.४८ प्रतिशतमा सीमित छ ।
Comments are closed.