काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आसन्न निर्वाचनका लागि उम्मेदवारी सार्वजनिक गर्ने क्रम बढेको छ । यसैक्रममा इक्यानको बर्तमान कार्यसमितिमा कोषाध्यक्ष रहेर काम गरिरहेका आशिक कार्कीले सचिवमा उम्मेदवारी सार्वजनिक गरेका छन् ।
यही पुस २८ गते हुने २०औं साधारणसभाले नयाँ नेतृत्व चयन गर्नेछ । कोषाध्यक्षमा रहँदा इक्यानको आर्थिक कोष व्यवस्थापनमा राम्रो भूमिका निर्वाह गरेका कार्कीले सचिवमा उम्मेदवारी घोषणा गरेका हुन् ।
‘कोषाध्यक्षको जिम्मेवारीमा रहँदा इक्यानको गरिमा बढ्ने गरी काम गरेको अनुभूति गरेको छ,’ उनले भने, ‘देशभरका इक्यानियन साथीहरुसँगको सल्लाह, सुझाव तथा परामर्शबाट नै अबको कार्यकालमा सचिवको उम्मेदवारी घोषणा गरेको छु । सबैबाट साथ प्राप्त हुनेमा विश्वस्त छु ।’
शैक्षिक परामर्श क्षेत्रमा लामो समयदेखि सक्रिय कार्कीले संस्थागत सुदृढीकरण र व्यावसायिक हकहितका लागि आफूले सचिव पदमा उम्मेदवारी दिएको बताएका छन् । कार्कीसँग इक्यानमा विभिन्न जिम्मेवारी सफलतापूवर्क निर्वाह गरेको अनुभव छ ।
संस्थाको आर्थिक पारदर्शिता र आर्थिक अनुशासन कायम गर्दै कोषलाई बलियो बनाउने अभियानमा उनी बर्तमान कार्यकालमा सक्रिय थिए । साथै मिडिया विभाग संयोजक भएर इक्यानको छवि र सूचना प्रवाहलाई प्रभावकारी बनाउन नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् ।
‘कोषाध्यक्षको रूपमा इक्यानलाई एउटा कर्पोरेट उचाइमा पु¥याएपछि, अब संस्थाको प्रशासनिक र रणनीतिक काम सम्हाल्न सचिव पदमा उम्मेदवारी घोषणा गरेको छु,’ उनले भने । नेतृत्वमा स्पष्ट भिजन र इच्छाशक्ति भए असम्भव काम पनि सम्भव हुने भन्दै उनले शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, सशक्त र सम्मानित बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले यस अगाडि कार्यसमिति सदस्य भएरसमेत काम गरिसकेका छन् ।

सचिव बनेर संस्थालाई थप बलियो, एकताबद्ध र प्रविधिमैत्री बनाउने लक्ष्य राखेका कार्कीले आम सदस्यहरूबाट साथ, सहयोग र मतको अपेक्षा गरेका छन् ।




Comments are closed.