इक्यानको केन्द्रीय सदस्यमा अशोक कुमार हाथीको उम्मेदवारी घोषणा

काठमाडौैं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को केन्द्रीय सदस्यमा अशोक कुमार हाथीले उम्मेदवारी घोषणा गरेका छन् । यही पुस २८ गते हुन लागेको २०औं साधारण सभा तथा निर्वाचनका लागि साईनअप इन्टरनेशनल एजुकेशनका सञ्चालक समेत रहेका हाथीले उम्मेदवारी सार्वजनिक गरेका हुन् ।

लामो समयदेखि शैक्षिक परामर्श क्षेत्रमा सक्रिय हाथीले व्यावसायिक हकहित र संस्थागत सुदृढीकरणका लागि आफूले उम्मेदवारी दिएको बताएका छन् । उनले दीपकराज भुसाल प्यानलबाट उम्मेदवारी घोषणा गरेका हुन् ।

परामर्श व्यवसायमा रहेको धरौटी सम्बन्धी व्यवस्था, चिकित्सा शिक्षा आयोगबाट जारी हुने ‘इलिजिबिलिटी’ र शिक्षा मन्त्रालयबाट जारी हुने ‘एनओसी’ प्रक्रियालाई सहज र सरल बनाउन आफूले समन्वयकारी भूमिका खेल्दै आएको उनले बताए । इक्यानको गरिमा बढाउने गरी संस्थागत हितमा काम गर्ने उनको प्रतिबद्धता छ ।

परामर्शदाताहरूको हकहित र कानुनी सुरक्षाका लागि नीतिगत तहमा पैरवी गर्ने, इक्यानलाई अझ बढी पारदर्शी, मर्यादित र समयसापेक्ष प्रविधिमैत्री संस्था बनाउने, शिक्षा मन्त्रालय र सम्बद्ध निकायहरूसँग समन्वय गरी व्यवसायीका समस्या समाधानमा पहल गर्ने, संस्थाभित्र अनुशासन कायम गर्दै सदस्यहरूको हितलाई सर्वोपरी प्राथमिकता दिने उनको प्रतिबद्धता छ ।

विगतमा इक्यानको मूल नेतृत्वसँगको सहकार्य र विभिन्न सामाजिक कार्यहरूमा संलग्न रहँदै आएका हाथीले आफ्नो अनुभव र स्पष्ट कार्यदिशाले संघलाई अझ बलियो र एकताबद्ध बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले आगामी निर्वाचनमा सम्पूर्ण मतदाता सदस्यहरूलाई अमूल्य मत दिई विजयी गराउन अपील समेत गरेका छन् ।

You might also like

Comments are closed.