पोखरा । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) पोखराद्वारा आयोजित ‘वाडा अटो सो २०२५’ को तयारी अन्तिम चरणमा पुगेको छ । वाडा अटो शो चैत १४ देखि १७ सम्म अमरसिंहचौरमा हुँदैछ ।
अटो शोको पूर्व सन्ध्यामा बुधबार पोखरामा वाडाले सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । अटो शो आयोजना स्थल वरपर अटोमोबाइल व्यवसायीहरुले सरसफाई गरेका हुन् ।
त्यसैगरी पोखरामा चैत ९ गते र १२ गते मोटर र्याली सम्पन्न भएको वाडाका महासचिव तथा प्रचारप्रसार संयोजक विनय थापाले जानकारी दिए ।
अमरसिंहचोकबाट शुरु भएको मोटर र्याली छोरेपाटनको गुप्तेश्वर महादेव गुफा, लेकसाइड, बाटुलेचौर हुदै महेन्दगुफा पुगेको थियो । पोखरा भ्रमण वर्षको सन्दर्भ पनि रहेकाले पोखराका पर्यटकीय गन्तव्यहरुमा मोटर र्याली गरिएको उनले बताए । र्यालीमा ४० वटा गाडी सहभागी थिए । मोटर र्याली अमरसिंहचोकमा आएर समापन भएको थियो ।
प्रदर्शनीमा १९ वटा ब्राण्डका ४–पाङ्ग्रे, ६ वटा ब्राण्डका लाइट कमर्शियल, ७ वटा ब्राण्डका २–पाङ्ग्रे लगायत लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण, अन्य एशोसेरिजहरू तथा वित्तीय संस्थाहरूका २० वटा स्टलहरू रहने छन् । प्रदर्शनीमा जिल्ला ट्राफिक प्रहरी कार्यालयको सहभागितामा सवारी साधन सुरक्षा सम्बन्धी जानकारी, सडक सुरक्षा तथा ट्राफिक नियम पालना सम्बन्धी विविध जानकारी मूलक कार्यक्रमहरू सञ्चालन गरिने छन् ।
Comments are closed.