अटोवेज र मुक्तिनाथ विकास बैंकबीच सहकार्य, बुल मेसिन खरिदमा सुलभ कर्जा

पोखरा । नेपालमा निर्माण उपकरण ‘बुल मेसिन’को आधिकारिक वितरक अटोवेज प्रा.लि. र मुक्तिनाथ विकास बैंक लिमिटेडबीच सहकार्य भएको छ । बुल मेसिन खरिद गर्ने ग्राहकका लागि सहज तथा व्यवस्थित वित्तीय सुविधा उपलब्ध गराउने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

पोखरामा आयोजित एक कार्यक्रमका बीच अटोवेज प्रा.लि.का अध्यक्ष तथा प्रबन्ध निर्देशक नारायणप्रसाद पौडेल र मुक्तिनाथ विकास बैंक लिमिटेडका हेड अफ रिजन बाबुराम ढकालले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

सहकार्यसँगै निर्माण व्यवसायी, ठेकेदार, उद्यमी तथा निर्माण उपकरणमा लगानी गर्न चाहने व्यवसायीले बुल मेसिन खरिद गर्दा आकर्षक वित्तीय सुविधा प्राप्त गर्न सक्नेछन् । सम्झौताअनुसार बैंकले बुल मेसिनलाई नै धितोका रूपमा राखी बिल वा इनभ्वाइस मूल्यको ५० प्रतिशतसम्म वित्तीय सुविधा उपलब्ध गराउन सक्नेछ ।

त्यस्तै, ग्राहकले स्वीकार्य थप स्थिर सम्पत्ति धितो उपलब्ध गराएमा बैंकको कर्जा मूल्यांकन तथा नीतिअनुसार डिलरको इनभ्वाइस मूल्यको ८० प्रतिशतसम्म वित्तीय सुविधा पाउन सक्नेछन् भने यस्तो अवस्थामा ब्याजको प्रिमियम दरमा ०.५० प्रतिशतसम्म कमी हुन सक्नेछ । अतिरिक्त धितोबिना कर्जाको अवधि ४ वर्षसम्म र अतिरिक्त धितोसहित ७ वर्षसम्म कायम हुन सक्नेछ, जुन आपसी सहमति तथा बैंकको कर्जा नीतिमा आधारित हुनेछ । दुवै संस्थाले वित्तीय सुविधाबारे ग्राहकहरूमा जानकारी पुर्याउन तथा मेसिनरी खरिदका लागि वित्तीय पहुँच विस्तार गर्न संयुक्त बजारीकरण तथा प्रवद्र्धनात्मक गतिविधिहरू समेत सञ्चालन गर्नेछन् ।

सो अवसरमा बोल्दै अटोवेज प्रा.लि.की प्रमुख कार्यकारी अधिकृत सन्ध्या पौडेलले नेपालभर गुणस्तरीय निर्माण उपकरणमा ग्राहकहरूको पहुँच अझ सहज बनाउन यो सहकार्य महत्वपूर्ण कदम भएको बताइन् । ‘निर्माण व्यवसायी तथा उद्यमीहरूलाई उत्पादनशील सम्पत्तिमा लगानी गर्न वित्तीय पहुँचले महत्वपूर्ण भूमिका खेल्छ । मुक्तिनाथ विकास बैंकसँगको यस सहकार्यले बुल मेसिन खरिद गर्न चाहने ग्राहकहरूलाई थप व्यवस्थित र सहज वित्तीय विकल्प उपलब्ध गराउने विश्वास लिएका छौँ,’ उनले भनिन् ।

अटोवेज प्रा.लि.का अनुसार यस सहकार्यले निर्माण तथा पूर्वाधार क्षेत्रको विकासमा योगदान पुर्याउनुका साथै व्यवसायीहरूलाई आफ्नो मेसिनरी क्षमता विस्तार गर्न र खरिदपछिको सेवा, स्पेयर पाट्र्स तथा समग्र ग्राहक सहयोगलाई थप सुदृढ बनाउन बल पुग्नेछ ।

You might also like

Comments are closed.