पोखरा ।
बागलुङको ढोरपाटनस्थित भुजिखोलाको बाढीले ज्यान गुमाएका व्यक्तिको परिवारलाई गण्डकी प्रदेश सरकारले राहत वितरण गरेको छ । प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानसहितको टोली गएर बाढी पीडित परिवारलाई राहत वितरण गरेको हो ।
प्रदेश सरकारले पहिलो चरणमा बाढीले ज्यान गुमाएका १४ परिवारलाई राहत वितरण गरेको प्रदेश सरकारले जनाएको छ । उनीहरुलाई प्रति व्यक्ति ५० हजारसहित, टेन्ट, म्याट्रेस, भाँडाकुँडा, खानेपानी फिल्टरलगायतका सामग्री वितरण गरिएको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले जानकारी दिए । अन्य पीडित परिवारलाईपनि राहत वितरण गरिने उनले बताए । पहिलो चरणमा बाढीले ज्यान गुमाएर शव सनाखत भएका व्यक्तिको परिवारलाई मात्र राहत वितरण गरिएको उनले बताए ।
अन्य मृतकका परिवारलाईपनि राहत वितरण गरिने भएपनि सनाखत नहुँदा शनिबार वितरण नगरिएको उनले बताए । सनाखत लगत्तै राहत वितरण गर्न मुख्यमन्त्रीले निर्देशन दिनु भएको छ,‘मुख्यमन्त्रीलाई उद्धृत गर्दै प्रेस संयोजक न्यौपानेले भने,‘बाँकी परिवारलाई राहत दिनका लागि आवश्यक रकम जिल्ला प्रशासन कार्यालयलाई हस्तान्तरण गरिसकिएको छ ।’ पहिलोपटक भएकाले मुख्यमन्त्री र आन्तरिक मामिला मन्त्री दुबै गएर राहत वितरण गरिएपनि बाँकीलाई जिल्ला प्रशासन कार्यालयले स्थानिय तहसँगको समन्वयमा राहत वितरण गर्छ ।
राहत वितरणलगत्तै मुख्यमन्त्रीलगायतले बाढीले क्षति पु¥याएको ठाउँको स्थलगत अवलोकन गरेको थियो ।
राहत वितरणपछि पीडित परिवारलाई सम्बोधन गर्दै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पीडितलाई सरकारले अभिभावकत्व ग्रहण गर्ने बताए । परिवार वा आफन्त गुमाएँ भनेर अभिभावकविहिन् भन्ने नठान्नुस्,‘उनले भने,‘तपाईंहरुको अभिभावकत्व ग्रहण सरकारले गर्छ, सरकार बिपदमा परेकाको अभिभावक हो ।’
मुख्यमन्त्री गुरुङले अब्यबस्थित बसोबासका कारण बाढी, पहिरोलगायतका प्राकृतिक प्रकोपले जीउ, धनको क्षेति भइरहेको बताए । उनले संघ सरकारसँग मिलेर पीडित परिवारलाई एकीकृत बस्ती बसाउन पहल गर्ने बताए । एकीकृत बस्ती बसाल्न नगरपालिकाले जग्गा खोजोस्, उनले भने,‘प्रदेश सरकारले घर बनाउन पैसा दिन्छ, संघलेपनि थप्छ ।’
बागलुङ बाढीमा परि हालसम्म १६ जनाको मृत्यू भइसकेको छ भने २२ जना अझै बेपत्ता छन् ।
Comments are closed.