मेला सम्पूर्ण पोखरेलीको साझा उत्सव हो

बलराम आचार्य, महासचिव, पोखरा उद्योग वाणिज्य संघ

हामीले ‘समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला २०८०’ पोखरा प्रदर्शनी केन्द्र नयाँ बजारमा आयोजना गरेका छौं । मंसिर २१ मा सुरु भएर पुस १ गतेसम्म मेला सञ्चालन हुनेछ । मेलालाई सभ्य र भव्य रुपमा सम्पन्न गर्ने अभियानमा हामी छौं । विभिन्न कार्यविभाजनसहित हामीहरु मेलाको तयारीमा खटिइरहेका छौं । कोभिड महामारी र आर्थिक मन्दीको मारमा निजी क्षेत्र परेको छ । यो विषम परिस्थितिमा आयोजित मेलाले यहाँको उद्योग, व्यवसायको प्रवद्र्धनमा सकारात्मक योगदान पुग्नेमा हामी विश्वस्त छौं । यहाँको पर्यटनदेखि लिएर कृषि, हस्तकलाको उत्पादनहरुको प्रर्वद्धन गर्न र आर्थिक रुपले पनि चलायमन बनाउन मेला अवश्य पनि सहयोगी बन्नेछ ।

मेलामा दैनिक उपभोग्य एवं अन्य सामग्री बिक्री तथा प्रदर्शनीमा राखिनेछ । कृषि, हस्तकला, स्थानीय उत्पादनलाई विशेष छुटमा स्टल उपलब्ध गराएका पनि छौं । उद्योगका उत्पादनलाई पनि प्राथमिकतामा राखेका छौं । अटो पेभेलियन पनि धेरैको आकर्षण बन्ने हामीले विश्वास लिएका छौं ।

हामीले टिकट दर सर्वसाधारणका लागि १ सय रुपैयाँ र विद्यार्थीलाई सहुलियतमा ६० रुपैयाँको टिकट निर्धारण गरेका छौं । खल्तीमार्फत अवलोकनकर्ताहरुले टिकट बुकिङ गर्न सक्ने व्यवस्था गरेका छौं । टिकटबाट प्राप्त केही रकम भूकम्प पीडितलाई सहयोग हुनेछ ।

मेलाको आकर्षणको रुपमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषिमेला, पुष्पमेला, अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, बैंक तथा वित्तीय संस्था, विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुको गतिविधिहरुको प्रदर्शनीलगायत दैनिक उपभोग्य वस्तु घरायसी सरसामान, लत्ताकपडा, श्रृंगारका सामानहरु रहनेछन् । मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरुबाट सांस्कृतिक कार्यक्रम गरिनुका साथै विभिन्न प्रतियोगिता पनि हुनेछन् ।

पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको भएपनि मेला सम्पूर्ण पोखरेलीहरु र यहाँका उद्योगी व्यवसायीहरुको साझा उत्सव पनि हो । यो मेला सफल बनाउन सम्पूर्ण पोखराबासीको साथ आवश्यक छ ।

कुराकानीमा आधारितः

You might also like

Comments are closed.