ऐन संशोधन गरेर यान्त्रिक उपकरणलाई सडक कर हटाउनुपर्छ

बालकृष्ण कोइराला, अध्यक्ष, नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ कास्की

नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ कास्कीको सदस्य संख्या हाल एक सयको हाराहारीमा छ । आजभन्दा करिव एक दशक अघि लिलामोहन कुँइकेलको अध्यक्षतामा १७ सदस्यबाट संघ स्थापना भएको हो । बर्तमान कार्यसमितिमा मैले संघको अध्यक्षको कार्यभार सम्हालिरहेको छु ।

कास्कीमा व्यवसायीहरुको हकहितका काम, स्थानीय, प्रदेश सरकार, जिल्ला विपद् संघ, जिल्ला ट्राफिक कार्यालय लगायतका विभिन्न संघ संस्थासँग सहकार्य गरेर काम गरिरहेका छौं । सामाजिक अभियानमा हामी निरन्तर लागिरहेका छौँ । नेपालमै हेभी इक्विपमेन्टको लाइसेन्स वितरण गर्ने कार्य कास्कीबाट संघको पहलमा गरेर नयाँ कार्यको सुरुवात गरेका छौँ । यो कार्य नेपालमा काठमाडौंमा बाहेक अन्य जिल्लामा छैन । कास्कीमा निरन्तर रुपमा जिल्लाबाटै हेभी इक्विपमेन्टको लाइसेन्स वितरण कार्य भइरहेको छ ।

जबसम्म राज्य चलायमान हुँदैन, विकास निर्माणका कामले तिब्रता पाउँदैनन्, तबसम्म व्यवसाय बिस्तार हुन सक्दैन । राज्यको नीति र राज्यले हेभी इक्विपमेन्टको क्षेत्रमा गरेको व्यवहारका कारण व्यवसायी निराश बनेका छन् । व्यवसाय गर्ने कि नगर्नेमा अन्यौलता छाएको अवस्था छ । स्थानीय सरकारले गाउँ तथा नगर सभामा प्रस्तुत गरेको बजेटमा राजश्व उठाउने भनेर वक्तव्य जारी गरिरहेको हुन्छ । तर राजश्व उठ्न सकिरहेको छैन । बजेट भाषणमा राजश्व करका विषयमा वक्तव्य जारी गरेपनि त्यसको पूर्णतया कार्यान्वयनमा स्थानीय सरकारले ल्याउन सकिरहेका छैनन् । राजश्व उठ्न नसक्दा कामहरु अघि बढ्न सकेका छैनन् ।

कोभिड–१९ र त्यसपछि आर्थिक मन्दीको मारले व्यवसायीलाई नराम्रोसँग असर पारेको छ । बैंक र राज्यले हेभी इक्विपमेन्ट क्षेत्रमा आबद्ध व्यवसायीका लागि गर्नुपर्ने दायित्व पूरा गर्न सकेका छैनन् । यसले गर्दा नयाँ व्यवसायी संघमा थपिने अवस्था देखिदैन ।

हामीले हाम्रा मेसिनहरु विकास निर्माणमा प्रयोग गर्दै आइरहेका छौं । सडकमा नगुड्ने, टेलरमा राखेर लैजाने उपकरणको राज्यले सडक कर लिने गरेको छ । यो व्यवसायीको हितमा छैन । सवारी साधन यान्त्रिक भएकाले सडक कर हटाउनुपर्नेछ । ऐन संशोधन गरेर सडकमा गुड्दै नगुड्ने उपकरणको कर हटाउनु पर्दछ ।

You might also like

Comments are closed.