वन जंगल एडभेन्चरः काठमाडौं नजिकको नयाँ रोमाञ्चक गन्तव्य

काठमाडौं । काठमाडौंको पाँचमाने क्षेत्र नजिकै खुलेको ‘वन जंगल एडभेन्चर’ रोमाञ्चक यात्रा प्रेमीहरूको लागि नयाँ आकर्षक गन्तव्य बनेको छ । गत दशैंबाट सुरु भएको यो वन जंगल एडभेन्चर ३० रोपनी क्षेत्रफलमा फैलिएको छ । चारैतिर हरियाली वन जंगलको काखमा रहेको वन जंगल एडभेन्चर निकै आकर्षक र सुन्दर वातावरणमा अवस्थित छ ।

नेपालमै पहिलो पटक ‘रोलर कुस्टर जिपलाइन’को मज्जा

नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय प्रविधि प्रयोग गरिएको रोलर कुस्टर जिपलाइन यहाँको प्रमुख आकर्षण हो । विदेशी प्रविधि तथा टेक्निसियनको प्रत्यक्ष संलग्नतामा ६०० मिटर लामो जिपलाइन तयार बनाइएको छ । जहाँ पर्यटकले रोमाञ्चक यात्रा गर्न सक्छन् । यसबाहेक ट्रि टप एडभेन्चर, जायन्ट स्विङ तथा ३६० साइकल जस्ता रोमाञ्चक गतिविधिहरू पनि उपलब्ध छन् । बच्चाहरूको लागि पनि वाल्क क्लाइम्बिङ लगायत पाँचवटा किड्स अब्स्ट्याकल गतिविधिहरू उपलब्ध छन् । जहाँ बच्चाहरुले भरपुर मनोरञ्जन लिन सक्छन् ।

नाइट स्टे, रेस्टुरेन्ट र फार्म हाउस

वन जंगल एडभेन्चरमा बस्न चाहने पाहुनाका लागि आवासको सुविधा पनि उपलब्ध छ । साथै नेपाली तथा कन्टिनेन्टल परिकारहरूको मिठो स्वाद उपलब्ध गराउने रेस्टुरेन्ट पनि सञ्चालनमा छ । यहाँ गाई, बाख्रा, टर्की, कालिज, कुखुरा, हाँस, खरायो लगायतका पशुपक्षी पालिएको फार्म पनि छ ।

सुरक्षालाई प्राथमिकता, बीमा सेवा उपलब्ध

यहाँ उपलब्ध सबै प्रकारका एडभेन्चर गतिविधिमा बीमाको सुविधा उपलब्ध रहेको सञ्चालक एलिस ढकालले जानकारी दिए । ‘सबै गतिविधिहरू आइजिआइ इन्स्योरेन्स कम्पनीबाट बीमा गरिएको छ,’ उनले भने, ‘हामीले सुरक्षालाई पहिलो प्राथमिकतामा राखेका छौं ।’ क्र्युहरुको प्रत्यक्ष निगरानी तथा निर्देशन अनुसार सुरक्षाका लागि आवश्यक इक्विपमेन्टसहित एडभेन्चर गतिविधिहरु सञ्चालन हुन्छन् ।

वन जंगल एडभेन्चरमा एलिससहित श्याम भट्टराई र एलिसा ढकालको लगानी छ । हालसम्म ८ करोड रुपैयाँ भन्दा बढी लगानी भइसकेको छ । ३० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

यो एडभेन्चर पार्कमा पर्यटकलाई आकर्षित गर्ने गरी टिपिकल नेपाली घर निर्माण गरिएको छ । जुन घरमा बस्ने सुविधा समेत उपलब्ध छ । टिपिकल घरमा स्याखु, डोको, हलो, जुवा, ढिकी लगायतका परम्परागत सामानहरु संरक्षणसहित प्रदर्शनी गरिएको छ । यो घरलाई संग्रहालयको रुपमा विकसित गरिएको सञ्चालक ढकाल बताउँछन् ।

वन जंगल एडभेन्चरमा पुग्न काठमाडौंको माछापोखरीबाट ककनीतर्फ १० किमी यात्रा गर्नुपर्छ भने ओशो तपोवनबाट करिब ३ किमी यात्रामा पुग्न सकिन्छ । सडकबाट थोरै माथि रहेको हरियाली जंगलको बीचमा रहेको वन जंगल एडभेन्चर शान्त तथा पारिवारिक वातावरणमा सेवा लिन चाहनेहरुका लागि आकर्षक गन्तव्य बन्न सक्छ ।

You might also like

Comments are closed.