कास्कीमा असारबाट नदिजन्य पदार्थको उत्खननमा रोक, अवज्ञा गर्नेलाइ कडा कारबाही गरिने

पोखरा । कास्कीमा असारबाट नदिजन्य तथा खानीजन्य पदार्थको उत्खनन तथा संकलन कार्यमा रोक लगाइएको छ । नदिजन्य तथा खानीजन्य पदार्थको जिल्ला अनुगमन समितिको बिहिबारको बैठकले सो निर्णय गरेको हो । ढुङ्गा, गिटि ,बालुवा उत्खनन, बिक्री तथा ब्यबस्थापन सम्बन्धि मापदण्ड २०७७ को कानुनी ब्यबस्था बमोजिम उक्त निर्णय गरिएको हो ।

सो ब्यबस्था अनुसार असार ,साउन र भदौ महिनामा उत्खनन तथा संकलन कार्य गर्न नपाइने उल्लेख छ। सो निर्णय कडाइका साथ कार्यान्वयन गरिने र अवज्ञा गरेमा कानुन अनुसार कडा कारबाही गरीने सो समितिका संयोजक समेत रहेका जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले बताए ।

पौडेलले सो कार्यमा सम्लग्न ब्यबसायी तथा आपूर्तिकर्ता र सरोकारवालाहरू सहित आम जनसमुदाय सचेत हुँदै निर्णयको कार्यान्वयन र मापदण्डको पालनामा सरिक हुन आग्रह गरे । बैठकले नदिजन्य पदार्थको मौज्दात आर्थिक बर्षको अन्त्य सम्म शून्य गर्नुपर्ने र सो हुन नसकेमा बाकी मौज्दात सम्बन्धित पालिकाले जफत गरि लिलाम गर्ने कानुनी ब्यबस्थालाइ कडाइका साथ लागू गर्न कास्कीका सबै पालिकालाइ अनुरोध समेत गरेको कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बरालले उल्लेख गरे ।

संचालनमा रहेका खानी ,क्रसर तथा प्रसोधन उध्योगले असार मसान्त भित्र आफ्नो उत्पादनको बार्षिक मौज्दात तथा खरिद बिक्रीको परिमाण सार्बजनिक गरि सो को जानकारी सम्बन्धित पालिका र अनुगमन समितिलाई दिनुपर्ने ब्यबस्थालाई समेत कडाइका साथ अनुगमन गरिने निर्णय भएको बरालले बताए ।

You might also like

Comments are closed.