बन्दीपुरमा आगन्तुक पर्यटकलाई प्रवेश निषेध

कृष्ण न्यौपाने/दमौली । पर्यटकीय नगरी बन्दीपुरका मुख्य बजारमा आगन्तुक पर्यटकलाई प्रवेश निषेध गरिएको छ । कोभिड–१९ को जोखिम बढेपछि गाउँपालिकाले जिल्लाभन्दा बाहिरी ठाउँबाट आउने पर्यटकलाई प्रवेश निषेध गर्ने निर्णय गरेको हो ।

गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङको अध्यक्षतामा बिहीबार बसेको बैठकले घुम्न आउने पर्यटकलाई शुक्रबारदेखि मुख्य बजारमा प्रवेश निषेधको निर्णय गरेको हो । “कोरोनाको दोस्रो लहरको जोखिम बढेकाले न्यूनीकरणका लागि यो निर्णय गरिएको हो,” उनले भनिन्। गाउँपालिकाले शुक्रबार नै बसपार्क नजिक स्वास्थ्य सहायता कक्ष स्थापना गर्नेछ ।

बन्दीपुरमा देशका विभिन्न जिल्लाबाट पर्यटक भ्रमणका लागि आउने गरेका छन् । “बसपार्कमा परिचयपत्र हेरेर मात्रै प्रवेशको व्यवस्था मिलाइने छ, तनहुँभित्रकै व्यक्तिहरुलाई प्रवेश हुन्छ, बाहिरबाट आएकाहरुलाई त्यहीँबाटै फर्काउँ छौँ,” उनले भनिन् । यसकार्यका लागि सहयोग गर्न यातायात व्यवसायी, उद्योग वाणिज्य सङ्घ, पर्यटन विकास समिति, टोल विकास संस्था, वडास्तरीय विपद् व्यवस्थापन समितिलगायतलाई आग्रह गरिएको छ ।

विदेशबाट आउने बन्दीपुरवासीलाई भने क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाइएको छ । त्यसको व्यवस्थापन सम्बन्धित वडा कार्यालयले गर्नेछ । गाउँपालिकाले कोभिड–१९ को जोखिम कम गर्न मास्क अनिवार्य लगाउन, सामाजिक दूरी कायम गर्न आग्रह गरेको छ ।

You might also like

Comments are closed.