आजदेखि बन्दीपुर केवलकारको आईपीओ निष्काशन खुला

काठमाडौं । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले आजदेखि आईपीओ (प्राथमिक शेयर) निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गर्दै आईपीओ सार्वजनिक गरेको हो ।

कम्पनीले कुल जारी पूँजी २ अर्ब ८३ करोड रुपैयाँको २०.७०६७ प्रतिशत हिस्सा अर्थात ५८ करोड ६० लाख रुपैयाँ बराबरको ५८ लाख ६० हजार कित्ता शेयर निष्काशन गर्न नियामक निकायबाट अनुमति पाएको हो ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका लागि ५ करोड ६६ लाख रुपैयाँ बराबरका ५ लाख ६६ हजार कित्ता साधारण शेयर निष्काशन गरेको छ। यी शेयरमा तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, भानु नगरपालिका–१ र गोरखा जिल्लाको पालुङ्टार नगरपालिका–७ का स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन् ।

त्यसैगरी, कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि कुल ५ लाख २९ हजार ४०० कित्ता शेयर छुट्याएको छ, जसको कुल मूल्य ५ करोड २९ लाख ४० हजार रुपैयाँ बराबर हुन्छ । यसमा आवेदन दिन न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म माग गर्न सकिनेछ। स्थानीय बासिन्दाहरूका लागि आवेदन खुला मितिः साउन ६ देखि छिटोमा साउन २० र ढिलोमा भदौ ४ गतेसम्म र विदेशमा रहेका नेपालीहरूका लागि आवेदन खुला मितिः साउन ६ देखि छिटोमा साउन ९ र ढिलोमा साउन २० गतेसम्म आवेदन दिन सक्नेछन् ।

केयर रेटिङ नेपालले बन्दीपुर केवलकारलाई “CARE-NP BB (Is)” रेटिङ प्रदान गरेको छ, जसले औसत स्तरको जोखिम संकेत गर्दछ। कम्पनीले सञ्चालन गर्न लागेको आयोजनाको अनुमानित लागत ३ अर्ब ८५ करोड रुपैयाँ रहेको छ । साधारण लगानी फिर्ता हुने अवधि ८.२२ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १०.५ वर्ष रहेको जनाइएको छ ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । स्थानीय बासिन्दाहरूले कम्पनीको तल्लो स्टेशन (बन्दीपुर गाउँपालिका वडा नं. ४), आँबुखैरेनी गाउँपालिका कार्यालय, भानु नगरपालिका–१ र पालुङ्टार नगरपालिका–७ को कार्यालयमार्फत दरखास्त फाराम लिएर आवेदन दिन सक्नेछन्। फाराम शुल्क २ रुपैयाँ रहेको छ। विदेशमा रहेका नेपालीहरूले भने सि–आस्बा प्रणाली तथा मेरोशेयर अनलाइन प्रणालीमार्फत सहज रूपमा आवेदन दिन सक्नेछन् ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.