११ जिल्लामा सेवा दिने जिम्मेवारी, तर बन्दीपुर कीट विकास केन्द्रमा आधा कर्मचारी मात्रै

काठमाडौं । गण्डकी प्रदेशका ११ जिल्लामा सेवा विस्तार गर्ने जिम्मेवारी पाएको बन्दीपुरस्थित व्यावसायिक कीट विकास केन्द्रमा कर्मचारी अभावले सेवा प्रभावकारी रुपमा सञ्चालन गर्न कठिनाइ भएको छ ।

केन्द्रमा स्वीकृत १० पदमध्ये हाल केवल पाँच कर्मचारी मात्र कार्यरत छन् । तीमध्ये एक जना अध्ययनको शैक्षिक अवकाशमा विदेशमा रहेका कारण झन् कार्यभार थपिएको छ ।

केन्द्रका निमित्त प्रमुख विजयराज पौडेलका अनुसार हाल केन्द्रमा एक वरिष्ठ बाली संरक्षण अधिकृत, एक बाली संरक्षण अधिकृत, एक प्राविधिक सहायक, एक नायब प्राविधिक सहायक र एक कार्यालय सहयोगी मात्र छन् । कृषि प्रसार अधिकृत, लेखापाल, प्रशासन सहायक र सवारी चालकका पद भने खाली छन् ।

“११ जिल्लामा सेवा दिनुपर्ने तर आधा कर्मचारी मात्र हुँदा प्रभावकारी सेवा दिन कठिन छ,” पौडेलले बताए ।

कृषकहरुलाई रेशमखेती, मौरीपालन र च्याउखेतीमा प्राविधिक सहयोग तथा तालिम प्रदान गर्दै आएको केन्द्रले गत आर्थिक वर्ष २०८१/८२ मा उल्लेखनीय प्रगति गरेको छ। सो अवधिमा केन्द्रले १३१ रेशम बिज कोया उत्पादन गरी खोपासीस्थित रेशम विकास केन्द्रलाई हस्तान्तरण गरेको थियो ।

यस्तै, च्याउ प्रयोगशालाबाट उत्पादन गरिएको तीन हजार पोका बीउमध्ये ५० प्रतिशत अनुदानमा किसानलाई वितरण गरिएको छ । कार्यालय परिसरमै उत्पादन गरिएको १०० केजी खायन च्याउ बिक्री गरिएको जानकारी पनि केन्द्रले दिएको छ ।

गत वर्ष केन्द्रले गण्डकी प्रदेशका ११० कृषकलाई मौरीपालन तथा १८३ कृषकलाई च्याउखेतीसम्बन्धी तालिम दिएको छ । जनशक्ति अभावका बाबजुद केन्द्रले पुर्‍याएको योगदान सराहनीय भए पनि जनशक्ति पूर्तिका लागि चाँडो पहल आवश्यक देखिएको छ ।

You might also like

Comments are closed.