बनेपा । काभ्रेपलाञ्चोकको बनेपा बजार नजिकै पुलबजारमा साेमबार बिहानै अरनिको राजमार्गमा राखिएको शंकास्पद वस्तु सेनाले निष्क्रिय पारेसँगै अवरुद्ध यातायात चलेको छ ।
साेमबार गरिएको नेपाल बन्दको क्रममा बिहान बनेपा पुलबजारमा शंकास्पद बस्तु राखेर सडकमा यातायात अवरुद्ध गरिएको थियो । शंकास्पद वस्तु कालिजङग गण धुलिखेलका नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेसँगै ९ : ३० बजेबाट यातायात चलेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले सो शंकास्पद वस्तु राखेको व्यक्ति पक्राउ गरिसकेको बताए ।
अनुसन्धानको क्रममा शंकास्पद बस्तु राखेर भागेको व्यक्ति महाभारत गाउँपालिका–६ स्थित लामाटोल बस्ने युगान्त थिङ र अर्का विवेक थिङलाई पक्राउ गरिएको छ । बिहान राजमार्गमा शंकास्पद वस्तु राखेर भागेको अवस्थामा सिसिटिभिको फुटेजको सहायताले उनीहरुले प्रयोग गरेको बागमती प्रदेश ०२–०२७ प ८७७४ नं को मोटरसाइकलसहित नियन्त्रणमा लिएको प्रहरी प्रमुख जोशीले बताए ।
Comments are closed.