काठमाडौं । बैंक तथा वित्तीय संस्थामा संकलित कुल निक्षेप र प्रवाहित कर्जामा बागमती प्रदेशको अंश सबैभन्दा बढी देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदनअनुसार २०८२ असार मसान्तसम्म कुल निक्षेपमा बागमती प्रदेशको हिस्सा ६५ दशमलव ८ प्रतिशत र कुल कर्जामा ५९ दशमलव ५ प्रतिशत रहेको छ ।
प्रतिवेदनअनुसार बैंक तथा वित्तीय संस्थाले कुल रु ७२ खर्ब ९५ अर्ब ६९ लाख बराबर निक्षेप संकलन गर्दा बागमती प्रदेशबाट मात्र रु ४७ खर्ब ९७ अर्ब ५९ करोड ८७ लाख उठेको छ। कोशीबाट रु ५ खर्ब ५३ अर्ब, मधेसबाट रु ४ खर्ब ७ अर्ब, गण्डकीबाट रु ६ खर्ब १२ अर्ब, कर्णालीबाट रु ९१ अर्ब र सुदूरपश्चिमबाट रु १ खर्ब ७३ अर्ब बराबर निक्षेप संकलन भएको छ ।
यस्तै, कुल रु ५५ खर्ब ८६ अर्ब कर्जा प्रवाहमध्ये बागमती प्रदेशमा रु ३३ खर्ब २३ अर्ब बराबर ऋण लगानी भएको छ । कर्जामा कोशी, लुम्बिनी र मधेस प्रदेशको हिस्सा क्रमशः उल्लेख्य रहे पनि कर्णाली र सुदूरपश्चिमको अंश न्यून देखिएको छ ।
कृषि क्षेत्रमा प्रवाहित कर्जा गत वर्षको तुलनामा ०.०४ प्रतिशतले घटेर रु ३ खर्ब ३६ अर्ब पुगेको छ भने औद्योगिक क्षेत्रमा रु १६ खर्ब ९९ अर्ब कर्जा प्रवाह भएको छ, जसको ७१ प्रतिशतभन्दा बढी बागमती प्रदेशमै केन्द्रित छ । सेवा क्षेत्रमा कर्जा प्रवाह रु २१ खर्ब ८४ अर्ब पुगेको छ, जसमा पनि बागमती प्रदेशको हिस्सा ५९ दशमलव ५ प्रतिशत रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।




Comments are closed.